फाइल तस्वीर: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नमर्दासम्म देशको राजनीतिमा उथलपुथल भइरहेन बताउनुभएको छ । आज सोमबार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको खुलासा गर्नुभयो । सम्बोधनका क्रममामा प्रधानमन्त्रीले भन्नुभयो —‘आजको दिन विशेष दिन । नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन ठुलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ ।’

नयाँ सत्ता समीकरणप्रति इङ्कित गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो — ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ । “मान्छे दुईवटा खुट्टाले हिँड्नुपर्छ कहिले दायाँ अघि जान्छ कहिले बायाँ । माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी हो ।’

‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन माओवादी’ भन्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो ‘नयाँ–नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभङ्गता भएको छ । माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो, अरुको कसैको होइन ।’