फाइल तस्वीर
झापा — इतिहासमा परिवर्तन ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषको नाम देखिए तापनि त्यसलाई सफल बनाउन क्रान्तिकारी जोशका साथ प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेका महिलाको चर्चा निकै कम हुने गरेको छ ।

आजसम्म विद्रोहका बारेमा लेखिएका किताब तथा लेखमा पनि महिलाको भूमिकाका बारेमा त्यति उल्लेख गरेको पाइँदैन । वास्तवमा झापा विद्रोहमा महिलाको योगदान पुरुषकोभन्दा कम नरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) की केन्द्रीय सदस्य मेनुका काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार लीला कट्टेल, सीता खड्का, गौरा प्रसाईं, जीवन घिमिरे, रिता खड्कालगायत वीराङ्गना विद्रोह सुरु हुनुअघि नै क्रान्तिको तयारीका लागि भूमिगत भइसकेका थिए । क्रान्तिकालमा सुरक्षित सेल्टर दिने र राज्यको दमन खेप्ने महिलाको साहसिक कथाको अझै खोजी हुन नसकेको उहाँको भनाइ छ ।

“लीला कट्टेल त कोअर्डिनेसन केन्द्र (कोके) झापाकै कार्य समिति सदस्य हुनुभएको विभिन्न दस्तावेजले देखाउँछ । सीता र गौरा उमेरका हिसाबले कलिलै भएकाले उहाँहरु बालसेना (रेडगार्ड)मा आबद्ध भएर पार्टीले अह्राएका गतिविधि गरेको पार्टीको दस्तावेजमा उल्लेख छ”, काफ्लेले भन्नुभयो ।

“झापा विद्रोहमा योगदान पु¥याउने महिलामा एकथरी कलिलो उमेरका विद्यार्थी थिए भने अर्काथरी श्रीमान् राजनीतिमा लागेपछि क्रान्तिकारी विचारबाट प्रभावित भएका पत्नी थिए”, नेकपा एमाले सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईंले भन्नुभयो, “यसबाहेक शिक्षकका रुपमा काम गरिरहेका र किसान महिला क्रान्तिमा होमिएका थिए ।”

निरङ्कुश शासन भएको समाजमा महिलाले कम्युनिष्ट बनेर विद्रोहको राँको बोकेर हिँड्नु आफैँमा क्रान्तिकारी रहेको एमाले नेत्री लत्ता प्रसाईंले बताउनुभयो । “पुलिसको निगरानी छल्दै सेल्टरमा दुःखपूर्वक दिनरात बिताउनु र पार्टीको गतिविधिमा सहभागी हुने क्रममा महिलाले भोगेका एक/एक सास्तीहरु कथा बन्न सक्छन्”, उहाँले भन्नुभयो ।

झापा विद्रोहका योद्धाहरुलाई खाना खुवाउने, सेल्टर दिने र उनीहरुको सन्देश गाउँहरुमा फिँजाउने काममा थुप्रै विद्यार्थी र पाका महिला सहभागी हुने गरेका प्रसाईंले जानकारी दिनुभयो । जीवन घिमिरे, विश्वश्वरा दाहाल, जानुका दाहाल, इन्दिरा चापागाईं, छायाँदेवी चापागाईं, नीरा प्रसाईं खरेल, रिता खड्का चौधरी, लक्ष्मी ढकाललगायत नेताहरु उक्त विद्रोहमा सहभागी भएका उहाँको भनाइ छ ।

नेपालमा महिलाको योगदान जहिले पनि ओझेलमा पर्ने गरेको एमाले केन्द्रीय सदस्य काफ्लेले बताउनुभयो । आन्दोलनको विगुल फुक्नुपर्दा र कठिन घडीमा महिलालाई अघि सार्ने गरिएको अनुभव उहाँले सुनाउनुभयो ।

“नारा र दस्तावेजमा महिला अधिकार र हितका कुरा धेरै पाइन्छन्”, काफ्लेले भन्नुभयो, “जब आन्दोलनले सफलता पाउँछ, पद र अवसर वितरणका बेला महिलालाई बिर्सने गरिन्छ । घोषणापत्र र नारा भुल्ने गरिन्छ ।”

झापा विद्रोहमा महिलाले गरेको त्याग, सङ्घर्ष र बलिदानीको हालसम्म पनि उचित खोजी र सम्मान हुन नसकेको महिलाहरुको गुनासो छ । झापा विद्रोहका साथै वि सं २०४६ र २०६२/६३ सालको जनान्दोलन, १० वर्षे जनयुद्धलगायत विभिन्न आन्दोलनमा महिलाले अग्रणी भूमिका निर्वाह गरेका नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य लक्ष्मी न्यौपानेले बताउनुभयो ।

“जनयुद्धमा महिलाले बन्दुक बोकेर युद्ध मैदानको कमान्डसमेत सम्हालेका थिए । आन्दोलनपछि आएको राजनीतिक परिवर्तनमा महिलाले उचित सम्मान र अवसर पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो ।

झापा विद्रोहमा जेल परेका पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजबंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई विसं २०२९ फागुन २१ गते साँझपख झापा र इलामको सीमानास्थित सुखानी जङ्गलमा गोली हानेर हत्या गरिएको थियो । उक्त घटना भएको १७ वर्षपछि जनान्दोलनको बलमा मुलुकमा प्रजातन्त्र बहाली भएको जानकारहरु बताउँछन् ।

प्रजातन्त्र बहाली भएको २६ वर्षपछि (२०७२ फागुन १९ गते) मात्र राज्यले सुखानीमा जीवनको आहुती दिएका ती पाँच योद्धालाई सहिदका रुपमा चिनेको नेकपा एमाले प्रदेश कमिटी सदस्य गणेश पोखरेलले बताउनुभयो । उहाँका अनुसार सुखानी हत्याकाण्ड भएको सहादतस्थलमा पाँच विद्रोहीको सालिकसहित अग्लो स्मारक निर्माण गरिएको छ ।

सालिक राखिनुअघि त्यहाँ पाँच वटा रुखको फेदमा फलामको बेराभित्र सिमेन्टको सानो स्मारक मात्र थियो । झापा विद्रोहलाई सम्झिएर विद्रोहीहरुप्रति श्रद्धासुमन अर्पण गर्न उक्त स्थानमा बर्सेनि हजारौँ मानिस जान्छन् । फागुन २१ गते उक्त स्थानमा विभिन्न कम्युनिष्ट पार्टीले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै आएका पोखरेलले जानकारी दिनुभयो ।