फाइल तस्वीर
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित नयाँ गठबन्धनले सत्ताको भागबण्डा मिलाउन चार सदस्यीय कार्यदल बनाएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसहित बालुवाटारमा आज बसेके बैठकले उक्त कार्यदल बनाएको हो ।

नयाँसत्ता समीकरण पछि बनेको कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहनुभएको छ ।

चार सदस्यीय यो कार्यदलले नयाँ गठबन्धनमा छलफल गरेर शक्ति बाँडफाँटको टुङ्गो लगाउने र अन्तिम निर्णय सत्ता गठबन्धनको बैठकले गर्नेछ । मन्त्रालयको बाँडफाँट गरेर सोहीअनुसार सत्ता सहकार्य अघि बढाउने गरी शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने भनिएको छ ।

मन्त्रालय भागबण्डासहितका विषयमा लागि यो कार्यदलले नयाँ गठबन्धनका सबै दलसँग पहल गर्ने बताइएको छ । यो कार्यदलले प्रदेश सरकारमा समेत शक्ति सन्तुलन हुनेगरी भागबण्डाको खाका तयार गर्ने छ ।

सत्ता साझेदारको नयाँ समीकरण बनेलगतै आज सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्याल दलको सिफारिसमा प्रधानमन्त्रीले मन्त्रीमा नियुक्त गर्नुहुने र भरे अपरान्हसम्ममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।


कार्यदलमा रहेका सबै (चारैजना) नेताहरू नयाँ गठबन्धनबाट मन्त्रीका दाबेदार हुनुहुन्छ । उपाध्यक्ष पौडेल र उपमहासचिव पुनमध्ये एकजनाले अर्थमन्त्रायको जिम्मेवारी पाउनुहुने छ भने गृहमन्त्रालयमा रास्वपाका अध्यक्ष समेत रहनुभएका रवि लामिछानेले दावी गर्नुभएको छ । यस सम्बन्धमा निर्णय गर्न एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई नै जिम्मा दिनुभएको छ ।

कार्यदलमा रहेकासहित वरिष्ठ नेताहरूले भने दोस्रो चरणमा मन्त्रीमा नियुक्त हुनुहुने बताइएको छ । कार्यदलको जिम्मेवारी पूरा गरिसकेपछि मात्रै अर्को चरणमा उहाँहरुलाई दलको सिफारिसमा मन्त्रीमा नियुक्त गरेर मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।