काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराउनुभएको छ । गत एक वर्षदेखि काङ्ग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गर्दै आउनुभएका प्रधानमन्त्रीले आज सोमबार राष्ट्रपतिलाई भेटेर सत्ताको नयाँ समीकरणबारे जानकारी गराउन राष्ट्रपति कार्यालय शितल निवास पुग्नुभएको हो ।

प्रधानमन्त्रीले नयाँ सरकार गठन गर्न काङ्ग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाउनुभएको छ । प्रधानमन्त्रीले आज सोमबार साँझसम्ममा आफ्नो नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्दै हुनुहुन्छ । यसबारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।