फाइल तस्वीर
काठमाडौँ — वर्तमान सत्ता गठबन्धन तोडिएसँग नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नो निवासमा डाक्नुभएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गठबन्धन तोकिएको जानकारी गराउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोड्नुभएको भन्दै बैठकलाई जानकारी गराउनु भएको हो ।

बैठकपछि काङग्रेस प्रमुख सचेतक लेखकले भन्नुभयो — ‘सभापतिजीले बैठकमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोडेको भनेर सुनाउनु भयो । अब हामी प्रतिपक्षमा बस्छौ, रमाउछौँ ।’

काङ्ग्रेसले गठबन्धन नतोडेको जिकिर गर्दै नेता लेखकले नयाँ रणनीति पनि केही नभएको उल्लेख गर्नुभयो । ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब ? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौं । अब हामी प्रतिपक्षको बेञ्चमा फर्किन्छौं’ — नेता लेखकले भन्नुभयो ।

त्यसोतः काङ्ग्रेससँगको गठबन्धन भत्किनुमा मुलभूतमा काङ्ग्रेस नै दोषि भएको एक थरीको विश्लेषण छ । काङ्ग्रेसले कोशी प्रदेशको मुख्यमन्त्री, सभामुखदेखि माग ११ गते सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई हराउन खेलेको भूमिका, फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको काङ्ग्रेस महासमितिको बैठकबाट माओवादी जनयुद्धप्रति लगाएको लालछना, सभापति देउवाका विश्वासपात्र मानिएका अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको निर्देशनलाई बेवास्ता गर्दै टकराव लिएको विषय नै माओवादी केन्द्र काङ्ग्रेससँग विच्किएर गठबन्धन परिवर्तन गर्नुको मुख्यकारण बन्न पुगेको देखिन्छ ।