काठमाडौँ — राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले आफ्नो छ वर्षे राष्ट्रियसभाको सदस्य कार्यकाल संसदीय अभ्यासका दौरानमा विधि र कानुन निर्माणमा धेरै सिक्ने अवसर भएको उल्लेख गर्नुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै उहाँले २०७४ सालदेखि २०८० फागुन २० गतेसम्म राष्ट्रियसभाको सदस्य भई छ वर्षे कार्यअवधिमा संवैधानिक जिम्मेवारी बहन गर्ने भूमिका प्राप्त भएको उल्लेख गर्नुभयो । उहाँको छ वर्षे राष्ट्रियसभाको सदस्यको कार्यकाल आजदेखि सकिँदैछ ।

“ऐतिहासिक गौरवको अनुभूति भएको छ । सिकाइ र अनुभव मुलुक र जनताको हितमा सदैव उच्चतम सदुपयोग गर्नेछु । आगामी दिनमा संसद्, सरकार र नागरिक सरोकारवालालाई निरन्तर जोड्ने प्रयास गर्नेछु”, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

सभापति पन्थले नीति, विधि, थिति निर्माणमा नागरिक सहभागिता प्रवद्र्धनमा आफ्नो भूमिका रहिरहने बताउँदै सामाजिक न्यायको पक्षमा, सुशासन प्रवद्र्धन र भ्रष्टाचारविरुद्धको अभियानमा आमनागरिकको साथमा खडा भइरहने उल्लेख गर्नुभएको छ ।

संविधान र व्यवस्था अग्रगामी हुँदाहुँदै पनि नागरिकको इच्छा, चाहना, अपेक्षा एवं भरोसा अनुकूल मुलुक र जनताको हितमा काम हुन नसकिरहेको उहाँको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्दै संविधान निर्माण र जारी गर्ने राजनीतिक शक्ति र नेतृत्वले विश्वास र भरोसाका साथ सबैलाई जोडेर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभएको छ ।