तस्वीरमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का ।
काठमाडौँ — नेपाली काङ्ग्रेसका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष पदका लागि हुने निर्र्वाचनमा गठबन्धनबाट एउटा मात्र उम्मेदवार हुने बताउनुभएको छ । उपप्रधानमन्त्री खड्काले गठबन्धनमा सल्लाह गरेर एकमात्र उम्मेदवार बनाउने बताउनुभएको हो ।

प्रतिनिधिसभाको आज शुक्रबारको बैठकपछि सञ्चारकमीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री खड्काले गठबन्धनमा केही समस्या भए आपसमा बसेर टुङ्गो लगाउने बताउनुभयो । गठबन्धनमा दायाँबायाँ हुने कल्पना समेत गर्न नसकिने भन्दै मन्त्री खड्काले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायमै रहने दाबीसमेत गर्नुभयो ।

गठबन्धनमा असमझदारी बढेको चर्चा चलिरहेको बेला खड्काले बिहीबारमात्र उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पटक भेटेर राजनीतिक वार्तालाप गरेको उल्लेख गर्दै काङ्ग्रेस उपसभापति खड्काले राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी जिकिर समेत गर्नुभयो ।