फाइल तस्वीर
भरतपुर — मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा पर्यटन क्षेत्रको सुधारका लागि आर्थिक क्षेत्रको सुधार हुन आवश्यक रहेको बताउनुभएको छ । ‘भरतपुर भ्रमण वर्ष २०२४’ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नागरिकको आयस्तर सुधार भयो भने मात्रै पर्यटनको विकास गर्न सकिने बताउनुभयो ।

“मानिसको जीवनस्तर नउठे पर्यटनमा लगानी गर्न सक्दैनन् । अर्को पाटो आर्थिक विकास र समृद्धि हो”, रेग्मीले भन्नुभयो, “पर्यटनको विकासका लागि आर्थिक विकास महत्वपूर्ण छ ।” उहाँले अहिले नेपालको पर्यटन क्षेत्र फराकिलो बन्दै गएकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

“पहिले मनोरञ्जन र रमाइलोका लागि पर्यटक आउने गर्दथे । अहिले अध्ययन र आध्यात्मिकका लागि विदेशी पर्यटक यहाँ आइरहेका छन्”, रेग्मीले भन्नुभयो । उहाँले विदेशी पर्यटकलाई यहाँ बसाई लम्ब्याउनका लागि सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो ।

भरतपुर भ्रमण वर्षले नेपालको पर्यटन विकासका लागि राम्रो सन्देश दिएको रेग्मीको भनाइ छ । भरतपुर प्राकृतिकसँगै धार्मिक दृष्टिले पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । ऐतिहासिक तथ्य हेर्दा पनि चितवन र पोखरा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन् भन्दै भरतपुर सधैँ अग्रपङ्तिमा रहने उहाँले बताउनुभयो ।