फाइल तस्वीर
इलाम सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा ‘चक’ र ‘डस्टर’लाई ‘स्मार्ट बोर्ड’ले बिस्थापित गरेको धेरै भइसक्यो । सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग बढाउनका लागि परम्परागत कालोपाटीको साटो स्मार्टबोर्ड ल्याइएको थियो । सामुदायिक विद्यालयले यसरी नयाँ प्रविधि प्रयोग गर्न थालेसँगै विद्यालयमा भर्ना हुनेको सङ्ख्या पनि बढेको छ ।

यसैमध्ये एक हुनुहुन्छ प्रसिका नेपाल । निजी विद्यालयमा अध्ययनरत उहाँ केही समय अघि बोर्डिङ स्कुल छाडेर सूर्योदय नगरपालिका–१० स्थित फिक्कल माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना हुनुभयो । उहाँले भन्नुभयो, “यहाँ त अडियो सुन्दै र भिडियो हेर्दै पढ्न पाइन्छ ।” 

आमाबुवाले  निजी विद्यालयमा पढ्न आग्रह गर्दागर्दै आफ्नै ढिँपीले कक्षा ८ देखि फिक्कलमा अध्ययन सुरु गर्नुभएकी उहाँको एकवर्षे परिणाम देखेर उहाँका बुवा दङ्ग हुनुहुन्छ ।

नगरपालिकाका अनुसार अघिल्लो शैक्षिक वर्षको तुलनामा यहाँका सामुदायिक विद्यालयमा ११ दशमलव २५ प्रतिशतले विद्यार्थी वृद्धि भएका छन् । कूल ६६ सामुदायिक र ३१ संस्थागत गरी ९७ विद्यालयमा नर्सरी देखि १२ कक्षासम्म ११ हजार छ सय विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सामुदायिक विद्यालयमा मात्र सात हजार ७३ जना छन् भने संस्थागतमा चार हजार पाँच सय २७ विद्यार्थी छन् । 

नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलका अनुसार हाल ६० दशमलव ९८ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालय र संस्थागतमा ३९ दशमलव ०.२ प्रतिशत छन् । विसं २०७५ सालमा संस्थागत विद्यालयमा ५७ प्रितिशत र सामुदायिक विद्यालयमा ४३ प्रतिशत मात्रै विद्यार्थी रहेकोमा पछिल्लो पाँच वर्षमा उल्लेख्य रुपमा सामुदायिकमा विद्यार्थीको सङ्ख्या बढेको उहाँको भनाइ छ । 

आराधना भट्टराई, अनामिका बस्याल, तासी तामाङ, केञ्जोला लेप्चा, सुप्रशान्त घिमिरे, दिव्यम प्रधान र प्रशान्त तामाङ प्रसिकासँगै निजी छोडेर सामुदायिकमा भर्ना हुने विद्यार्थीमा हुनुहुन्छ । “बोर्डिङमा हुँदा रटेर लेखिन्थ्यो अहिले सिक्ने तरिका फरक छ”, आराधनाले भन्नुभयो, “पावरप्वाइन्ट, एक्सेल र वर्ड चलाउन जान्ने भएका छौँ । नयाँ कुरा थाहा पाउन इन्टरनेट छँदैछ ।” 

सामुदायिकमा विद्यार्थीको सङ्ख्या बढ्नुको मुख्य कारण विद्यालयको भौतिक संरचनामा आएको सुधार र गुणस्तरीय शिक्षा नै भएको हिमालय माविका पूर्वप्रधानाध्यापक नित्यानन्द सापकोटाले बताउनुभयो । “नगरपालिकाले शिक्षकलाई विभिन्न प्राविधिक तालिम दियो, अभिभावकलाई सचेत गरायो र विद्यालय व्यवस्थापन समितिलाई तालिम दिन थालेको छ ।” सापकोटाले भन्नुभयो, “निरन्तरको खबरदारी र नगर प्रमुखको शैक्षिक गुणस्तर सुधार गर्ने योजनाले नै पनि अवस्था सुधार भएको हो ।” 

सात वर्षअघि फिक्कल माविको पुरानो भवन थियो । विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) लागू भएपछि विद्यालयमा प्रविधिमैत्री भवन बनेको प्रधानाध्यापक गङ्गाबहादुर महतले बताउनुभयो । हाल यस विद्यालका प्रत्येक कोठामा स्मार्ट बोर्ड (इन्ट¥याक्टिभ प्यानल) जडान गरिएको छ । ई–लाइब्रेरी, कम्प्युटर ल्याव, गणित ल्याव, इन्टरनेट र सिसी क्यामेरा जडान गरिएको छ । 

छात्राहरूलाई महिनावारी भएपछि विद्यालय आउन समस्या पथ्यो । हिजोआज विद्यालयमै स्यानिटरी प्याडको व्यवस्था भएपछि नियमित विद्यालय आउने गरेका छन् । कक्षाकोठमा शिक्षकले पढाएको वा नपढाएको सिसी क्यामराबाट हेर्न सकिन्छ । सिसी क्यामरा जडान गरेपछि शिक्षक नियमित र समयावधिभर नै विद्यार्थीलाई पढाउने गरेका छन् । 

विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ । शिक्षक÷कर्मचारी विद्यालयमा गए नगएको जानकारी नगरपालिकाको शिक्षा शाखाले हेर्नसक्ने व्यवस्था छ । “शिक्षक÷कर्मचारी विद्यालयमा गए नगएको नगरपालिकामै पनि हेर्न सकिने व्यवस्था गरेका छौँ”, सूर्योदय नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले भन्नुभयो, “अधिकांश विद्यालयमा ई–हाजिरी राखेका छौँ । यसले नियमित कक्षा सञ्चालनमा मद्दत गरेको छ ।” उहाँका अनुसार नगरपालिकाका २४ वटा विद्यालयमा ई–हाजिरी जोडिएको छ । 

सूर्योदय नगरपालिकामा एसएसडिपी कार्यक्रमअन्तर्गत भवन, शौचालय, आइसिटी र ई–लाइब्रेरी बनिएको छ । “सबै विद्यालयमा विज्ञान प्रयोगशाला, इन्टरनेट, कम्प्युटर र सिसी क्यामरा राखिएको छ”, उहाँले भन्नुभयो, “प्रविधिमैत्री विद्यालय निर्माण गरिएकाछन् ।”

नगरपालिकाभित्र रहेका ६६ वटा सामुदायिक विद्यालयका करिब ११ हजार विद्यार्थीलाई निःशुल्क पाठयपुस्तक दिने गरिएको छ । शिक्षा शाखा प्रमुख भट्टराई भन्नुहुन्छ, “विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाएका छन् । कक्षा एकदेखि छसम्मको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । उत्तीर्ण प्रतिशत पनि बढेको छ ।” 

विद्यालयमा भौतिक संरचनाको काम अधिकांश सकिएको छ । अब शिक्षाको गुणस्तरमा फोकस हुने योजना नगरपालिका र विद्यालयको छ । नगरपालिकाले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षकसँग गुणस्तरीय शिक्षाका लागि सम्झौता गर्ने गरिएको नगर प्रमुख रणबहादुर राइले बताउनुभयो । 

“विद्यार्थीहरू गणित विषयमा कमजोर भएकाले गणित ल्याव खोलेर अभियान नै चलाउँछौँ । गणितसँग खेलौ, गणितीय धारणा बसाऊ अभियान चलाएका छौँ । अभियानमार्फत कक्षा आठदेखि १० सम्मका विद्यार्थीलाई तीन÷तीन वटा पुस्तक दिने गरेका छौँ”, नगर प्रमुख राईले भन्नुभयो । 

नगरपालिकाले बैंकसँग मिलेर कक्षा एकदेखि कक्षा आठसम्मको विद्यार्थीको बैंक खाता खोलिदिएको छ । कक्षा आठसम्म आधारभूत शिक्षा दिनैपर्ने लक्ष्य पूरा गर्न विद्यार्थीको बैंक खाता खोलिएको प्रमुख राईले बताउनुभयो । यो खातामा विद्यार्थी आफैँले पनि रकम जम्मा गर्छन् । तर, महिनामा नगरपालिका र बैंकले निश्चित रकम पनि बचत गरिदिन्छ । “यो रकम कक्षा आठसम्म झिक्न पाइँदैन । कक्षा आठपछिको शिक्षामा सहयोग होस् भनेर यो कार्यक्रम ल्याइएको हो”, उहाँले भन्नुभयो । 

नगरपालिकाले गर्भवतीको तथ्याङ्क सङ्कलनको काम पनि गर्छ । “अहिले जन्मिएको बच्चा तीन वर्षपछि एसिडीमा भर्ना हुन आउँछन् । कति बच्चा हुन्छन् त्यसका आधारमा योजना बनाउन गर्भवतीको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो”, शिक्षा शाखा प्रमुख भट्टराईले भन्नुभयो ।