काठमाडौँ — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आधुनिक प्रविधिको सदुपयोग गरी गुणस्तरीय एवं व्यावसायिक चलचित्र निर्माण गरी विश्वबजारसम्म पुरयाउनुपर्ने समय आएको बताउनुभएको छ । नेपाली चलचित्रकर्मीको अन्तरराष्ट्रिय सञ्जालको प्रथम साधारणसभाका अवसरमा आज यहाँ आयोजित ‘सिमानाभन्दा पर ः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बदलिँदो विश्वपरिवेशलाई ध्यान दिँदै नेपाली सिने उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ चलचित्रकर्मी नीर शाहले कलाकर्मीबीचको अविश्वास र बेमेलका कारण चलचित्र व्यवसाय अपेक्षा गरिएअनुसार फस्टाउन नसकेको उल्लेख गर्दै व्यावसायिक सफलताका लागि लगनशील भई एकताबद्धरूपमा अघि बढ्न चलचित्रकर्मीसँग अनुरोध गर्नुभयो ।

सञ्जालका अध्यक्ष लब प्याकुरेलले नेपाली युवाको विदेसिनेक्रम बढेसँगै राम्रा चलचित्रले पनि बजार पाउन नसकेका सन्दर्भमा नेपाली भाषीको उल्लेख्य उपस्थिति भएको विश्वबजारसम्म नेपाली चलचित्र पुग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाली चलचित्र उद्योगमा उल्लेख्य योगदान पु¥याउनुहुने गीतकार डा कृष्णहरि बराल, अग्रज एवं वरिष्ठ चलचित्रकर्मी भुवन चन्द, गौरी मल्ल, करिष्मा मानन्धर, राजकुमार राई, उद्धब पौडेल, रवीन्द्र खडका, मुकुन्द भट्टराईलगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सो अवसरमा सञ्जालका नवनिर्वाचित अध्यक्ष प्याकुरेल, उपाध्यक्षद्वय प्रदीपलाल श्रेष्ठ र लक्ष्मण सुवेदी, महासचिव रमेश कोइराला, सचिव भीष्मराज फुलारा, कोषाध्यक्ष थण्डबहादुर अधिकारीलगायत १२ सदस्यीय पदाधिकारी एवं कार्यकारी सदस्यलाई प्रमाणपत्र पत्र प्रदान गरिएको थियो ।