फाइल तस्वीरः शर्मिला वाइबा ।
काठमाडौँ — आफुलाई सामाजिक अभियन्ता भनेर परिभाषित गर्दै आएकी पछिल्लो समय विभिन्न विवाद क्रियाकलापमा मुछिएकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । शर्मिला वाइबालाई कुटपिटसम्बन्धी घटनामा संलग्न भएको उजुरीको आधारमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइरहेको छ । शर्मिला वाइबाविरुद्ध ‘म्याकुरी’ उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडामाथि कुटपिट गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सुम्निमा खालिङले आफूलाई पवनले श्रीमती स्वीकारेर घरमा नराखेको र सम्बन्धविच्छेद पनि गर्न नचाहेको कुरा सामाजिक सञ्जालमा ल्याएपछि पवनमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि पवनले शर्मिलामाथि उजुरी दर्ता गरेका थिए । सुम्निमाको पक्षमा उत्रिएकी शर्मिलासहितले आफूलाई कुटपिट गरेको भन्दै पवनले महाराजगञ्ज बृत्तमा उजुरी दिएका थिए । शर्मिलामाथि रितु नामकी अर्की युवतीलाई गर्भवती भएको अभिनय गर्न लगाएर पवनसँग रकमको मोलमोलाइ गरेको आरोप पनि छ ।

शर्मिलाले सीसीटीभी फुटेज दूरुपयोग गरेको घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा रहेको विषयमा सम्बन्धित अधिकारीले मात्रै सीसीटीभीफुटेज हेर्न पाइनेमा शर्मिलाले त्यसलाई सामाजिक सञ्जालमै सार्वजनिक गरिदिएकी थिइन् ।