नेता राजेन्द्र महतो नेतृत्वको समूहले काठमाडौँमा गरेको आन्दोलन ।


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान नाम दिएर राजेन्द्र महतो नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ । नेता महतोको समूहले आज बुधबार ‘हाम्रो भूमिमा हामीलाई निषेध गर्न पाइँदैन, पाइँदैन’ लगायतका विभिन्न नारा लगाउँदै सरकारले लागू गरेको निषेधित क्षेत्र तोड्ने प्रयास गरेको हो ।

नेता महतोको नेतृत्वको आन्दोलनकारी दस्ताले ‘हाम्रो भूमिमा हामीलाई निषेध गर्न पाइँदैन, हाम्रो मुख बन्दगर्न पाइँदैन’ भन्दै उनीहरू निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरतर्फ अघि बढेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच केहीबेर घम्साघम्सीसमेत भएको थियो । प्रदर्शनकारीलाई रोक्ने क्रममा भद्रकाली क्षेत्रमा एक जना प्रदर्शनकारी बेहोससमेत भएका थिए ।

लोसपा परित्याग गरी नयाँ पार्टी खोल्ने अभियानमा लाग्नुभएका महतोले आफ्नो नेतृत्वमा यति बेला छुट्टै अभियान सञ्चालन गर्न थाल्नुभएको छ । लोसपा पत्यिाग गरेसँग भारतीय नेताहरुलाई भेट्न दिल्ली पुग्नुभएका नेता महतोले भारतबाट फर्किए लगतै आफुले छिट्टै नयाँ पार्टी खोल्ने र आन्दोलनको सुरुवात गर्ने बताउनुभएको थियो ।

नेता महतोले राष्ट्रिय मुक्ति क्रान्ति अभियान नाम दिंदै केही दिनदेखि कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिंदै आउनुभएको थियो ।