फाइल तस्वीर: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर ।


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । फागुन २७ गतेदेखि २९ गतेसम्म तीन दिनसम्म बैठक गर्नेगरी लोसपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठक महोत्तरीको बर्दिबासमा बस्ने उक्त पार्टीले जनाएको छ । लोसपामा केन्द्रीय सदस्य चयनका क्रममा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद चुलिंदा जाँदा अन्ततः पार्टी विभाजन हुन पुगेको छ ।

पार्टीमा विवाद उत्पन्न भएपछि भारत पुग्नुभएका वरिष्ठ नेता राजेन्द्र महतो भारतीय केही नेताहरुसँग भलाकुसरी गरेर स्वदेश फकिए लगतै आफुले नयाँ पार्टी खोल्ने र तराई मधेशमा आन्दोलन गर्ने उद्घोष गर्नुभएको थियो ।

वरिष्ठ नेता महतो लगायत केही नेताहरुले लोसपा छाडिसक्नुभएको छ । नेता महतोले लोसपा परित्याग गरेपछि लोसपाले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीलाई सुदृढीकरण गर्दै सङ्गठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको लोसपाले जनाएको छ । यसअघि सङ्गठन सुदृढीकरणका लागि लोसापले विभिन्न कार्यदल बनाएको थियो ।

गठित कार्यदलले तयार गरेको प्रतिवेदन केन्द्रीय समितिको बैठकमा छलफल हुने भएको छ । केही नेता पार्टीबाट बाहिरिएसँगै केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति तथा पदाधिकारी हेरफेर गर्ने तयारी समेत गरेको बताइएको छ ।