काठमाडौँ — खानेपानीमन्त्री महिन्द्र राययादवले नेपाल खानेपानी संस्थानको खारेजी नभई पुनःसंरचना गर्न आवश्यक भएको औँल्याउनुभएको छ । संस्थानको ३५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री यादवले नेपाली नागरिकमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न संस्थाको पुनःसंरचना आवश्यक भएको बताउनुभयो ।

“मुलुकको राजनीतिक व्यवस्था पुनःसंरचना गरिसकेका छौँ । खानेपानीको सवालमा पनि यस संस्थानको पुनःसंरचना गर्न जरुरी छ, उहाँले भन्नुभयो – “संस्थानको आवश्यकता छ । पुनःसरचनाका बारेमा छलफल गरी टुङ्ग्याउनुपर्छ । संस्थानले आफ्नो दायित्व इमानदारीपूर्वक बहन गर्नुपर्छ ।”

संविधानले प्रत्याभूत गरेका नागरिकका चासोलाई तीन तहको सरकारले समन्वयात्मक ढङ्गले सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री यादवले संस्थानलाई थप मितव्ययी र पारदर्शी बनाउन आवश्यक छ भन्नुभयो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बजेट वक्तव्यमा उल्लेख भएको संस्थानको खारेजीको विषयमा अध्ययन भएको तर खानेपानी संस्थानको मौज्ुदा जनशक्ति स्थानीय तहमा समाहित हनुनसक्ने बताउनुभयो । यद्यपि उहाँले त्यसको कारण भने खुलाउनुभएन । “ संस्थानलाई तत्काल खारेज गर्ने अवस्था छैन । व्यावसायिक योजना बनाएर अघिबढ्न आवश्यक छ”, उहाँले भन्न्ुभयो ।

नेपाल खानेपानी संस्थान, सञ्चालक समिति अध्यक्ष, गुणाखर भुसालले संस्थानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न कर्मचारीमैत्री वृत्ति विकास आवश्यक भएको बताउनुभयो । संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले संस्थानको खारेजी प्रक्रियालाई अघि नबढाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको बताउँदै जापान सरकारको सहयोगमा कर्मचारीलाई तालिम प्रदान गरी उनीहरूको क्षमता अभिवृद्धि गरिएको बताउनुभयो ।