फाइल तस्वीर
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भजन शिरोमणि, वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न पुग्नुभएका एमाले अध्यक्ष ओलीले त्यहाँ संक्षिप्त भनाइ राख्नुहुँदै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

भजन शिरोमणि आचार्यलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरु प्रज्ञाभवन पुग्नुभएको थियो ।

स्वर्गीय आचार्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । भजन शिरोमणि आचार्यको हिजो सोमबार अपरान्ह साढे ४ बजेतिर ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज आचार्य पनि नेपाली गीत सङ्गीतका क्षेत्रमा स्थापित हुनुहुन्छ । नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान दिनुभएका आचार्यले चार सय बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ ।