फाइल तस्वीर
काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठकमा विभिन्न प्रदेश र पार्टी समितिहरूको कार्यविभाजन गर्ने विषयमा सहमति नजिक पुगेको छ । आज बिहान बसेको स्थायी समितिको बैठकमा जनप्रतिनिधिहरूले स्थानीय पालिका, प्रदेश सांसदहरूले प्रदेश तथा सङ्घीय सांसदहरू सभा तथा ऐन कानुन निर्माणमा बढी केन्द्रित हुने गरी कार्यविभाजन गर्ने विषयमा सहमति नजिक पुगेको हो ।

नेताहरुको जिम्मेवारी बाँडफाँँड गर्ने तयारी गरिएअनुसार कोशी प्रदेशको इञ्चार्जमा हरिबोल गजुरेल, मधेस प्रदेश इञ्चार्जमा लीलामणि पोखरेल, बागमतीमा पार्टी प्रवक्ता समेत रहनुभएका अग्निप्रसाद सापकोटालाई जिम्मेवारी दिइने भएको छ भने नेता दीनानाथ शर्मालाई गण्डकी प्रदेश, चन्द्रप्रकाश खनाललाई लुम्बिनी प्रदेश, कालिबहादुर मल्ललाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी गिरिराजमणि पोखरेललाई दिनेगरी प्रस्ताव गरिएको छ ।

यसैगरी विशेष प्रदेशको इञ्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वय समितिको इञ्चार्जमा देवप्रसाद गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इञ्चार्जमा पम्फा भुसाल, भारत समितिको इञ्चार्जमा मातृकाप्रसाद यादव र युरोपको इञ्चार्जमा राम कार्कीको नाम प्रस्ताव गरिएको छ । यी नामहरुमा भोली बस्ने स्थायी समितिको बैठकले निर्णय लिने बताइएको छ ।