फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपक्षी दलका सांसदहरुले बैठकमा उठाउनुभएको विषयको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । सभामुख घिमिरेले फागुन १८ गते बस्ने प्रतिनिधिसभाका बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

सभामुख घिमिरे रुलिङसँगै संसदको अवरोध हटेको छ । यसअघि पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेलगायत प्रतिपक्षी दलका सांसदहरुले मन्त्रीहरुको राजीनामा र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै नाराबाजी गर्नुभएको थियो ।

सभामुखले पटकपटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरुले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

विपक्षी दलहरुले बैठकमा बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतका सार्थ पर्यटनमन्त्री सुदन किराती र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत सांसदहरुले राजीनामा माग गर्नुभएको थियो ।