फाइल तस्वीर

काठमाडौँ — सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरूसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

सरकारले गठन गरेको वार्ता टोलीसगँ मिटरब्याज पीडितहरुले वार्ता गर्ने भएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति केन्द्रीय सचिवालय सदस्य अजय कार्कीले वार्ता जाने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ । समितिले सरकारसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गर्नेभएको छ ।

समितिमार्फत् देशभरका मिटरब्याजी पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनका लागि विभिन्न जिल्लाबाट एक हजार जनाभन्दा बढी पीडितहरू काठमाडौँ आएका छन् । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका पीडितहरू यतिबेला सिंहदरबार तथा भृकुटीमण्डप केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

मिटरब्याज पीडितको आन्दोलनलाई सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको समेत ऐकबद्धदा रहेको छ । मिटरब्याज पीडितले भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका छन् । उनीहरूले सिंहदरबार मार्च पास गर्नुका साथै विरोध सभा समेत आयोजना गर्दै आएका छन् । उनीहरूले माग सम्बोधन गर्नेगरी उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।