काठमाडौँ — प्रतिनिधिसभा बैठकमा सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इङ्गित गर्दै संविधानको विरोध नगर्न अनुरोध गर्नुभएको छ । सांसद सापकोटाले प्रतिनिधिसभाको आज आइतबारको बैठकमा बोल्दै सो कुरा बताउनुभएको हो ।

सांसद सापकोटाले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः संविधानकै विरोध गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न नमिल्ने बताउनुहुँदै संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरु हुन नसक्ने उल्लेख गर्नुभयो ।

सांसद सापकोटाले भन्नुभयो, संविधानको धारा २ लाई हेर्ने हो भने सार्वभौमसत्ता र राजकीय सत्ता भनिएको छ । नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानको व्यवस्थामा भए बमोजिम हुनेछ भन्ने छ । र यो संविधानमा व्यवस्था गरिएकै अनुसार हामी नेपालको सार्वभौम सम्पन्न अधिकार भएको संसदमा उपस्थित छौँ तर बेलाबखत यो व्यवस्थाका बारेमा चाहिने भन्दा ज्यादा अनर्गल प्रचारबाजी गर्ने गरिएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले ‘पाइहाल्दा मन्त्री पनि भइहाल्ने, यही संसदको लोगो लगाएर भएभरको सम्पूर्ण सेवासुविधाहरु लिने, फेरि यही व्यवस्थाको विरोध गर्ने, यो कति नैतिक छ । यो व्यवस्थाको विकल्प यो भन्दा उन्नत प्रकारको यो व्यवस्थाभित्र रहेको सीमा र कमीकमजोरीहरुबारे यो संसदमा मज्जाले बहस गर्न सकिन्छ, यो व्यवस्थाका बारेमा र यो संविधान भन्दा माथि गएर यो संविधानलाई ध्वंस गर्नेगरी बहस गर्ने अधिकार कसैलाई छैन । यही संविधानले दिएको लोगो र यसैले व्यवस्था गरेको संरचनामा भाग लिने, सारा सेवा सुविधा लिने, प्रदेशतिर गएर सभामुख पनि लिने, फेरि संविधानलाई विरोध गर्ने । यो संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादीहरु हुन सक्दैन’ भन्नुभयो ।