फाइल तस्वीर
काठमाडौँ — राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आज शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद् भएको उल्लेख गर्दै सांसदहरुले मौजुदा कानुन कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ ।

विशेष समयमा बोल्दै सांसद् तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँमा आएका बताउँदै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको उल्लेख गर्नुभयो । उहाँले बालकुमारी घटनामा निर्दोष युवकको मृत्यु भएको जनाउँदै दोषीलाई कारबाही गर्नसमेत माग गर्नुभएको थियो ।

सांसद दाहालले सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको आरोप लगाउँदै मन्त्रीहरुले गैरजिम्मेवार काम गरेकाले त्यस्ता मन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो । सांसद दाहालले जनतामा निराश बढेको र विदेश पलायन हुने क्रम बढेको सन्दर्भमा समाधानका लागि आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैगरी राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद् नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई न्याय दिनुपर्ने र दोषीलाई कारबाही गर्नु पर्नेमा जोड दिनुभयो । सांसद् मिश्रले नारायणगढ–बुटवल सडक खण्डको दुर्दशाका बारेमा जानकारी गराउँदै सडक भत्काएर जनतालाई दुःख दिन नहुने धारणा राख्नुभएको थियो । आगामी दिनमा बाटो भत्काउने र बनाउने कामसँगै गर्नुपर्ने उल्लेख गर्दै मिश्रले ठेकेदारलाई त्यही शर्तमा मात्र ठेक्का दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा प्रतिगमनकारीले टाउको उठाउन लागेको भन्दै राष्ट्रिय एकताको आवश्यकता आँैल्याउनुभएको थियो ।

सांसद् राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनीको विमानस्थल सञ्चालन हुन नसक्दा जनता पीडित भएको बताउँदै सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अब आउने बजेटमा स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकता राख्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद गैरेले बालकुमारी घट्नामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको दोष नरहेको खण्डन गर्दै सोसम्बन्धी प्रतिवेदन सार्वजनिक भएपछि मात्र सत्यतथ्य बाहिर आउने धारणा व्यक्त गर्नुभएको थियो ।

सांसद डा विमला राई पौड्यालले केही समय अघिसम्म नेपालमा चिकित्सा शिक्षाको राम्रो छाप रहेको बताउँदै नियमनको लागि ल्याइएका नयाँ मापदण्डले चिकित्सा शिक्षालाई सङ्कुचन गरेको आरोप लगाउनुभएको छ ।

विशेष समयमा बोल्दै सांसद तुलबहादुर विश्वकर्माले वर्तमान सरकारले मुलुकभरका अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्नका लागि पठाएको निर्देशनको प्रसंशा गर्नुभयो । साथै सांसद विश्वकर्माले मिटरब्याजी पीडित न्यायका लागि काठमाडौँ आएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सो सम्बन्धमा बनेको कानुन कार्यानवयन गर्न माग गर्नुभयो ।

अर्का सांसद खिमलाल देवकोटाले महाविर पुनले वीरगञ्ज कृषि कारखाना सञ्चालनका लागि रकम चाहियो भने आफ्नो किताब बेचिरहेको उल्लेख गर्दै आवश्यक रकम जोहो गर्न आग्रह गर्दै सांसद् देवकोटाले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निष्कर्षमा पु¥याउन सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैगरी आजको बैठकको विशेष समयमा बोल्दै सांसद जगतबहादुर पार्कीले सरकारको प्रतिरक्षा गर्दै वर्तमान सत्ता गठबन्धनको सरकारले संविधानलाई मजबुत बनाउने ऐतिहासिक काम गर्न थालेको दाबी गर्नुभयो । सांसद् पार्कीले तत्कालीन नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकारले संसद् विघटन गर्दा व्यवस्थाका बारेमा निराशावादी सोच उत्पन्न भएको टिप्पणी गर्दै वर्तमान सरकारले सुशासनका काम गर्दै आएको र सिङ्गो राष्ट्रलाई समृद्धितिर लैजान खोजेको जिकिर समेत गर्नुभयो । सांसद पार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनका बेला गर्नुभएको प्रतिबद्धता कार्यान्वयन गर्न प्रयत्न गरिरहेकोसमेत उल्लेख गर्नुभयो ।

सांसद पार्कीले सरकारले गरेको प्रयासका कारण नै अर्बाैंको सार्वजनिक जग्गा सरकारका नाममा आएको उल्लेख गर्दै सरकारले आर्थिक अवस्था सुधारका लागि सङ्कल्प गरेको बताउनुभयो । साथै उहाँले सुदूरपश्चिममा विगतमा राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट प्राथमिकता नपर्ने गरेको गुनासो गर्दै आगामी बजेटमा प्राथमिकतामा राख्न सरकारसँग मागसमेत गर्नुभयो ।


उहाँले नेपालमा पढ्न सहज नभएपछि नेपाली विद्यार्थी सिमानामा रहेका छिमेकी मुलुकका संस्थामा पलायन हुन बाध्य भएको बताउँदै कानुन संशोधन गरेर भए पनि नेपालभित्रै पढ्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।