फाइल तस्वीर
काठमाडौँ — रुसी सेनामा भर्ति भई युक्रेनविरुद्धको लडाईं मोर्चामा रहेका दुईसय ४० जना नेपालीले उद्धारका लागि आफन्तमार्फत् निवेदन दिएका छन् । रुस र युक्रेनबीच दुई वर्षदेखि चलिरहेको युद्धका क्रममा रोजगारीका लागि रुस पुगेर त्यहाँको सेनामा भर्तिभएका नेपालीहरूले आफ्नो उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् ।

परराष्ट्र मन्त्रालयमा उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले उनीहरुको उद्दारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । विभागमा महानिर्देशक प्रकाशमणि पौडेलले उद्धारको माग गर्दै दिएको निवेदन प्राप्त भएको बताउनुभएको छ । रुसी सेनामा भर्तिभएका मध्ये अहिलेसम्म युक्रेनसँगको लगाईंमा १२ जनाले ज्यान गुमाएको सरकारको आधिकारिक तथ्याङ्क छ । युक्रेनसँगको लडाईंमा अझै धेरै नेपालीहरुले ज्यान गुमाएको हुनसक्ने अनुमान गरिंदै आएको छ । रुसी सेनामा भर्तिभएका मध्ये अहिलेसम्म ४५ जना नेपालीहरु व्यक्तिगत र सरकारको पहलमा सकुशल नेपाल फर्किन सफल भएका छन् ।

रुसी सेनामा भर्तिभई मृत्यु भएका नेपालीका परिवारलाई रुसी सरकार क्षतिपूर्ति दिन तयार भएको छ । यसअघि मृत्यु भएका र सेनामा भर्ना नगर्न गरेको आग्रहबारे रुसले कुनै प्रतिक्रिया दिएको थिएन । सरकारको अथक प्रयासपछि रुसले मृत्यु भएका नेपालीहरूको अस्तु नेपाल पठाउने र मृतकका परिवारलाई क्षतिपूर्ति समेत दिन तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युक्रेन रुसबिचको युद्धका लागि नेपालीहरू समेत रुसी सेनामा भर्ना हुँदै आएका थिए । यतिबेला भने सरकारले श्रम स्वीकृति र रुस भ्रमणमा रोक लगाएपछि पछिल्लो एक महिनादेखि जान नपाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।