फाइल तस्वीर
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ । उपकुलपति पदमा नियुक्त हुनुभएपछि संक्षित प्रतिक्रिया व्यक्त गर्दै नवनियुक्त उपकुलपति बरालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि उपकुलपति बरालले भन्नुभयो — “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।”

नवनियुक्त उपकुलपति प्रा. डा. बरालले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्ने बताउनुभयो ।

“विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ, भन्नुहुँदै उपकुलपति बरालले यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ”— भन्नुभयो ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसक्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले आजै कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गर्नुभएको थियो । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।

प्रा.डा. बराललाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवम् शिक्षा सचिवसँग उहाँको ‘करिअर’का विषयमा जानकारीसमेत लिनुभएको थियो ।

उपकुलपति पदका लागि दर्खास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।