काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार भएको बैठकमा प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने समझदारी भएको हो ।

गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको थियो । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा, मिटरब्याज पीडितका समस्या, सुशासन कायम गर्न पार्टीले निर्वाह गरेको भूमिकालगायत विषयमा छलफल भएको थियो । पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान, पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यक्रमबारे पनि बैठकमा छलफल भएको थियो ।