फाइल तस्वीर: नेपाली काङग्रेसको महासमितिको बैठक।


काठमाडौँ — सत्तारुढ दल नेपाली काङग्रेसको जारी महासमितिको बैठकमा वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानको एजेण्डा जवर्दस्त रुपमा उठेको छ । महासमितिको बैठकमा उपस्थिति सदस्यहरुमध्ये एक हजार ६१ जनाले वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानको पक्षमा हस्ताक्षर गर्दै उक्त पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।

फागुन ४ गते ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा अभियानका संयोजक एवं केन्द्रीय सदस्य शङ्कर भण्डारीसहित २२ जना सदस्यहरुले प्रस्ताव नै पेश गर्नुभएको थियो । तर केन्द्रीय समितिको बैठकमा उक्त विषयले प्रवेश पाएको थिएन ।

तर पार्टीको महासमिति बैठक सुरुभएपछि यस अभियानको पक्षमा हस्ताक्षर गर्ने नेताहरुको सङ्ख्या ह्वात्तै बढेको छ । महासमितिको बैठक समापनको सुरुमा अभियानका संयोजक एवं केन्द्रीय सदस्य शङ्कर भण्डारीले सभापति देउवालाई उक्त हस्ताक्षर बुझाउनुभएको छ । उक्त अभियानका सहसंयोजक लोकेश ढकालका अनुसार पूर्वमहामन्त्री डा.शशाङ्क कोइराला, नेता अर्जुननरसिंह केसीसहित ४२ जना केन्द्रीय सदस्यहरुल समेत हस्ताक्षर गर्नुभएको बताइएको छ ।

सोमबारदेखि सुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै अभियानकर्मीहरुले उक्त विषयमा हस्ताक्षर सङ्कलन गर्ने कार्य गर्नुभएको थियो । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको महासमिति बैठकको हल अगाडि अभियानका अगुवाहरु पाल टाँगेरै हस्ताक्षर अभियान सञ्चालन गर्नुभएको थियो । यद्यपि, हिन्दुराष्ट्रको एजेण्डाले भने महासमिति बैठकमा छलफलका लागि प्रवेश पाउन सकेन । काङ्ग्रेस महासमितिको बैठक आजबाट सकिंदैछ ।