फाइल तस्वीर: रास्वपाका सांसद विराजभक्त श्रेष्ठ
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई सदन र सडक दुवै अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले यस्तो चेतावनी दिनुभएको हो ।

प्रतिनिधिसभाको सून्य समयमा बोल्दै रास्वपाका प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएका सांसद् श्रेष्ठले भन्नुभयो ‘सभामुख महोदयमार्फत् सरकारलाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षीलाई नसुन्ने हो भने संसद् अवरुद्ध पनि हुन्छ, आन्दोलन पनि हुन्छ । तर, सरकारले हामीलाई के दोष दिन पाउँदैन भने प्रतिपक्षले संसद् चल्न दिएन, प्रतिपक्षीको नेपथ्यबाट जनताको पीडा राख्दा सरकारले सुन्दैन भने संसद् मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ ।’

सांसद श्रेष्ठले सरकार संसदप्रति जवाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको भन्ने प्रश्न गर्दै भन्नुभयो ‘संसद्प्रति सरकार जवाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ । ती दुई युवा र परिवारलाई सरकारले के दियो ?

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मात्रै नभई सडक पनि अवरुद्ध पार्ने चेतावनी दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद विराजभक्त श्रेष्ठले यस्तो चेतावनी दिनुभएको हो ।

यसैगरी रास्वपाका सभापति एवम् सांसद् रवि लामिछानेले मिटरव्याज पीडितहरुको मागलाई सरकारले बेवास्था गरेको आरोप लगाउँदै तत्काल उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

नेकपा (एमाले) का नेता योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गत कात्तिक १८ गतेदेखि उपकुलपति पद रिक्त रहेको र उपकुलपतिजस्तो पदको अन्तर्वार्ता शिक्षामन्त्री र सचिवले लिइने प्रवृत्ति गलत भएकाले स्वतन्त्र र निष्पक्षरूपमा उपकुलपति छनोट गर्न माग गर्नुभयो ।

बैठकमा सांसदहरूले मुलुकमा सुशासन हुनुपर्ने, स्थानीय तहमा बैंकका शाखा सञ्चालन हुनुपर्ने, कर्णाली करिडोर स्तरोन्नति हुनुपर्ने, कृषिका उपज सहजरूपमा बजारमा जाने वातावरण हुनुपर्ने, सहकारीपीडितले न्याय पाउनुपर्ने, मापदण्डविपरीत चुनढुङ्गा खानी उत्खनन गरी स्थानीयलाई प्रभावित पार्न नहुनेलगायत विषय उठाउनुभयो ।

यस्तै सांसदहरूले सवारी दुर्घटना नियन्त्रण, बाल सुधारगृहमा अनुगमन हुनुपर्ने, जाजरकोटका भूकम्पपीडितले अझै राहत नपाएको, मेडिकल काउन्सिलको लाइसेन्सको परीक्षा तोकिएभन्दा एक दिन अगाडि बिनासूचना लिइएको विषय उठाएका थिए ।

सांसदहरू भगवती चौधरी, भानुभक्त जोशी, महेशकुमार बर्तौला, महेन्द्रबहादुर शाही, मैना कार्की, मानवीर राई, माधव सापकोटा, मुक्ताकुमारी यादव, गङ्गाप्रसाद यादव, मीना तामाङ, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराइली, रञ्जुकुमारी झा, रमा कोइराला पौडेल, राजन केसी, रामकुमार राई, रामहरि खतिवडा, रुक्मिणी राना बराइली, लक्ष्मी तिवारी, एलपी साँवा लिम्बू, लीलानाथ श्रेष्ठलगायतले भाग लिनुभएको थियो ।