फाइल तस्वीर
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी केन्द्रीय कमिटीको आजको बैठकमा समूहगत छलफलको निचोड सुनाइने तयारी छ । जारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएका विभिन्न चार वटा कार्ययोजना माथि हिजो बुधबार समूहगत भएको छलफलको निष्कर्ष आज बिहीबारको बैठकमा सुनाइने भएको हो ।

समूहगत छलफलमा उठेका विषयमा स्थायी कमिटीको समूहबाट सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, कोशी प्रदेशबाट अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशबाट अध्यक्ष चन्द्रेश्वर मण्डल, बागमती प्रदेशबाट अध्यक्ष कैलाश ढुङ्गेल, गण्डकी प्रदेशबाट अध्यक्ष नवराज शर्मा, लुम्बिनी प्रदेशबाट अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट अध्यक्ष गुलाबजङ्ग शाह, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कृष्णप्रसाद जैसी र केन्द्रीय विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास समूहबाट केन्द्रीय सदस्य पेम्बा लामाले आ–आफ्नो समूहको लिखित प्रतिवेदन बिहीबारको बैठकमा प्रस्तुत गर्नेछन् ।

छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम छ ।