फाइल तस्वीर
सिन्धुपाल्चोक — विसं २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ‘सङक क्षेलिङ गुम्बा’को निर्माण जनश्रमदानबाट सुरु गरिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवा निर्माणाधीन गुम्बा जनश्रमदानबाट निर्माण गर्न लागिएको गुम्बा निर्माण समितका अध्यक्ष सत्यमान तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुम्बा निर्माणका लागि रु तीन करोड खर्च लाग्नेछ । “गुम्बा निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीयको श्रमदानमा निर्माण भइरहको छ”, उहाँले भन्नुभयो । 

सङ्घ र प्रदेश सरकारबारे पटक–पटक ध्यानाकर्षण गराएइए पनि अन्तिम चरणमा स्थानीय आफै गुम्बा निर्माणमा अग्रसर भएको सो वडाका निवर्तमान वडाध्यक्ष पासाङ स्याङ्बाले बताउनुभयो । गुम्बा निर्माणका लागि सहयोग जुटाउने काम भइरहेको उहाँको भनाइ छ । 

सात सय वर्षभन्दा पुरानो गुम्बा भूकम्पले भत्काएपछि स्थानीयलाई पूजा गर्न निकै कठिन भएको थियो गुम्बाका प्रमुख लामा छेवाङ ग्याल्बो लामाले बताउनुभयो । “बर्खामा पानी पर्ने, हिउँदमा हावा चल्ने खुल्ला ठाउँमा पूजा गर्नुपर्दा धेरै समस्या हुने गरेको थियो । गुम्बा निर्माणले तीव्रता पाएसँगै ढुक्क भएको छ”, उहाँले भन्नुभयो । विसं २०७७ सालदेखि निर्माण सुरु गरिएको गुम्बामा अब मूर्ति स्थापना, रङ, बुट्टा भर्नेलगायत काम बाँकी रहेको निर्माण समितिका अध्यक्ष तामाङले बताउनुभयो । कूल ४८ घर गुठी रहेको गुम्बा करिब एक रोपनी जग्गामा फैलिएको छ । 

बौद्ध धर्मअनुसारका हरेक संस्कारमा बौद्धमार्गीलाई लक्षित गर्दै गुम्बा निर्माण गरिएको समितिले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सूचीमा गुम्बा निर्माण गर्नुपर्ने उल्लेख भए पनि अहिलेसम्म पनि कुनै निकायबाट सहयोग नपाएको समितिको भनाइ छ । 

गुम्बा निर्माणका लागि हालसम्म कोषमा रहेको रु ५० लाख, जनश्रमदानबाट सङ्कलित रु ३० लाख, गाउँपालिकाबाट प्राप्त रु ३० लाख र गुठियारलगायतबाट उठेको रु ७० लाख सङ्कलन भएको समितिका अध्यक्ष सत्यमान तामाङले जानकारी दिनुभयो । 

श्रमदानबाट पनि धेरै काम गर्न सकिने रहेछ भन्ने सन्देश दिन सकिएको स्थानीय ग्याल्जेन स्याङ्बाले भन्नुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का अनुसार २०७२ को भूकम्पले जिल्लामा रहेका करिब दुई सय गुम्बामा क्षति पुगेको थियो ।

बौद्ध धर्मावलम्बीको विवाह, व्रतबन्धलगायत पुनित कार्य गुम्बामा आयोजना गरिन्छ । पुनःनिर्माणमा ढिलाइ हुँदा यो समुदायलाई समस्या आफ्नो रीतिरिवाजमा समस्या परिरहेको स्थानीयले बताएका छन् । 

“तामाङ समुदायको हरेक काम गुम्बाबाटै हुन्छ । भूकम्पपछि विवाह–व्रतबन्धलगायत काम गोठमा वा टहरो बनाएर गर्दै आइरहेका छौँ,” स्थानीय ग्याल्जेन स्याङ्बाले भन्नुभयो । 

पाँचपोखरीमा ४१ वटा गुम्बा पुनःनिर्माण गर्नुपर्ने गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । “४१ वटा गुम्बा निमार्ण गर्नुपर्ने छ, बल्ल पाँच÷छवटा बन्यो अरू पनि क्रमशः बनाउने योजना छ” उहाँले भन्नुभयो । 

गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्यून रहेकाले पनि गुम्बा, मठमन्दिरलगायत क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसकिएको लामाले भन्नुभयो । पालिकाभित्र रहेका गुम्बा तथा अन्य धार्मिक संरचनाको पुनःनिर्माण र संरक्षणका लागि गाउँपालिकाले स्रोतले भ्याएसम्म आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।