राँझा — राष्ट्रिय समाचार समिति (रासस)ले समावेशी पत्रकारिताको विकास गर्न जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । राससको ६३औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयले आयोजना गरेको ‘राससमा समावेशी पत्रकारिताको विकास’ विषयक अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले भाषाको संरक्षणसँगै जनताका सवाल राससले उठान गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले रासससँगको सहकार्यमा अवधी भाषामा समाचार प्रकाशन गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

“अवधी भाषाको संरक्षण गर्ने कामको सुरुआत गरेका छौँ, भाषासँगै अवधी भाषी जनताका समस्याका विषय पनि राससले उठान गर्नुुपर्छ”, नगरप्रमुख बिष्टले भन्नुभयो, “यो अभियानमा सबै सञ्चारकर्मी र सञ्चारमाध्यमले सहयोग र सहकार्य गर्न जरुरी छ ।”

नगरप्रमुख बिष्टले स्थानीय सञ्चारमाध्यम र भाषा बचाउन नसकिए लोकतन्त्र कमजोर हुने उल्लेख गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले छिट्टै सञ्चार नीति ल्याएर सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागाईँले राष्ट्रिय समाचार समितिले सबै भूगोल, वर्ग र समुदायका जनजीविकाका सवाल उठान गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपालगञ्जका अग्रज पत्रकार झलक गैरेले राससले भाषाको साथ साथै सबै जातजाती र समुदायका सवाललाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बताउनुभयो ।

रासस नेपालगञ्ज कार्यालयका प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालगञ्जका अग्रज पत्रकारहरु शिव डोटेल र प्रेम केसी, नेपाल पत्रकार महासङ्घका सचिव कमल डाँगी, सामाजिक अभियन्ता विश्वजित तिवारी, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय बर्मा, अवधि पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सूर्यलाल यादव, रासस नेपालगञ्ज कार्यालयका पूर्वप्रमुख निरजकुमार गौतम, पत्रकारहरु बिमला चौधरी, रुपा गहतराज, डक्ट धिताल, नविन गिरी, दुर्गा रोकायलगायतले राससको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।