फाइल तस्वीर
काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ६३ वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक क्षणमा राससले नवीनतम प्रविधिको प्रयोगबाट आफ्नो सेवालाई समयानुकूल सुधार गरी प्रतिस्पर्धी बनाउँदै लगेको छ । अनेकौँ राजनीतिक घटनाक्रमसँगै परिवर्तित व्यवस्थामा पनि राससले राज्य र जनताप्रति उत्तरदायी र जवाफदेही बनेर निरन्तर कर्म गरिरहेको सबैमा विदितै छ । राससले देशविदेशका समाचार, निरन्तर सम्प्रेषण गर्दै आएको छ । स्टेनसिल, लिथो, टाइपराइटर, टेलिप्रिन्टर प्रविधिबाट कम्प्युटर प्रविधि हुँदै आजको डिजिटल युगमा राससले आफूलाई अग्रपङ्क्तिमा उभ्याएको छ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको राससले अनेकौँ राजनीतिक घटनाक्रमसँगै परिवर्तित व्यवस्थामा पनि राससले राज्य र जनताप्रति उत्तरदायी र जवाफदेही बनेर निरन्तर कर्म गरिरहेको जगजाहेरै छ । विसं २००७ को प्रजातन्त्रको अन्तिम समयमा पञ्चायती व्यवस्थाको सुरुआतसँगै स्थापना भएको राससले देश विदेशका समाचार, निरन्तर सम्प्रेषण गर्दै आएको छ । विसं २०४६ को जनआन्दोलनबाट पुनःस्थापित प्रजातन्त्रिक व्यवस्थामा राससले थप उन्नति र विकास गर्ने अवसर पायो । विसं २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्वपछि भएको बृहत् शान्ति सम्झौताले नेपालमा एउटा नयाँ राजनीतिक परिवर्तन ल्यायो । नेपालको अन्तरिम संविधान, २०६३ जारी भयो । यही संविधानकै जगमा उभिएर नेपालमा संविधानसभाको निर्वाचन भयो भने नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने आधारशिला तयार गरेको हो । यही व्यवस्थाअनुसार राससले हालसम्म निरन्तर समाचार सेवा सञ्चालन गर्दै आएको छ । 

समाचार सेवा

प्रारम्भमा राससले नेपाली भाषाबाट समाचार सेवा सुरुआत गरेको हो । सेवालाई विविधीकरण गर्ने क्रममा २०२० फागुन १८ देखि अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, २०५५ मा आलेख, २०६४ मा तस्बिर, अडियो, २०७९ मा भिडियो सेवा सञ्चालन गरेको छ । यी सबै नेपाली र अङ्ग्रेजी भाषामा मात्रै थियो । राससले नेपाली र अङ्ग्रेजी भाषाबाहेक अन्य भाषामा समाचार सेवा सञ्चालन गर्न नसकेको तीतो यथार्थ रहेको थियो । यही तथ्यलाई मध्यनजर गर्दै राससले २०८० पुस २३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा माननीयमन्त्री रेखा शर्माज्युबाट मातृभाषाको समाचार सेवा शुभारम्भ गरेका छौँ । 

पहिलो पटक नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा अवधि भाषाको समाचार सेवा सुरुआत गरेको सहर्ष जानकारी गराउँछु । यो कार्यले राससमा एउटा नयाँ इतिहास लेखिएको छ । यो अवसर दिनुहुने नेपालगञ्ज उपमहानगरपालिका परिवारलाई पुनःहार्दिक धन्यवाद ज्ञापन गर्दछु । राससले समाचारको गुणस्तर सुधार गर्न हरसम्भव प्रयास गरिरहेको छ । समाचारदाताहरुलाई तालिम र अभिमुखीकरण गर्ने कार्य निरन्तरन्तर गरेको छ । प्रदेश सरकारसँगको सहकार्यमा मधेस प्रदेश, लम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा क्षमता विकास तालिम सम्पन्न गरेका छौँ । 

राससले गएको एक बर्षमा नेपाली समाचार २८ हजार चार सय ३५ वटा, अङ्ग्रेजी समाचार १० हजार पाँच सय ७४ वटा, अन्तर्राष्ट्रिय समाचार चार हजार ८२४ वटा, तस्बीर नेपाली २३ हजार २४१ वटा, तस्बीर अन्तर्राष्ट्रिय ६३ हजार ८५६ वटा, अडियो ७३७ वटा र भिडियो क्लिप्स चार हजार ७५३ वटा वटा र खोजमूलक लेख, विचार एक हजार ३७७ वटा गरी एक लाख ३७ हजार ७९७ वटा समाचार सामग्री सम्प्रेषण गरेको छ । यो अघिल्लो बर्षको तुलनामा बढी हो । 

पूर्वाधार र सुशासन

राससले आफ्नो सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय कार्यालयसँगै सात वटा प्रदेश कार्यालय र नौ वटा ठूला सहरमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरिरहेको छ । यी सबै कार्यालयको मर्मतसम्भार गर्ने कार्य गरेका छौँ । अझै केही कार्यालयको मर्मत कार्य पूर्ण हुन सकेको छैन । 

राससको चितवनमा रु सात करोडको लागतमा राष्ट्रिय तालिम केन्द्र भवन निर्माण भइरहेको छ । पोखराको भवन निर्माण गर्न भवन निर्माण विभागसँग सहकार्य गर्ने प्रक्रिया अगाडि बढाएका छौँ । धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा भवन निर्माण कार्य गर्ने प्रक्रिया सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा जिल्ला तथा प्रदेश कार्यालयको मर्मत कार्य गरेका छौँ । 

राससले सेवालाई प्रभावकारी बनाउन सेवाग्राहीसँग ६÷६ महिनामा छलफल गरिरहेका छौँ । सेवाग्राही निर्देशिकामा हेरफेर गरी १० वा सोभन्दा बढी सेवाग्राही एउटै निवेदनबाट सेवाग्राही बन्न आए ३५ प्रतिसतसम्म छुट दिने व्यवस्था गरेका छौँ । महिला, दलित र पछाडि पारिएका क्षेत्रमा सञ्चालन भइरहेका मिडियालाई समेत एक वर्षको शुल्क बुझाएमा ३५ प्रतिशत छुट दिने व्यवस्था रहेको छ ।  हालसम्म राससको सेवाग्राही सङ्ख्या ५३७ वटा रहेको छ ।  

रासस ऐन र विनियमावलीको संशोधनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखा र कानुन शाखामा छलफल भइरहेको छ । राससका कर्मचारीको उपदान र स्वास्थ्योपचार खर्चलाई व्यवस्थित गर्न सञ्चालक समितिबाट निर्देशिका स्वीकृत गरी लागू गरेका छौँ । यही निर्देशिकाका आधारमा नागरिक लगानी कोषमा खाता सञ्चालनमा ल्याएका छौँ । हाल रु आठ करोड जम्मा गरेका छौँ । यो कोष सञ्चालनमा आएसँगै उपदानको समस्या दीर्घकालीन समाधानतर्फ अगाडि बढेको छ । यो कोषमा राससको घर बाहलबाट आउने रकमको ९५ प्रतिशत रकम जम्मा गरिने निर्णय भएको छ । त्यस्तै घर बहालबाट आउने चार प्रतिशत रकम रासस विकास तथा मर्मतसम्भार कोषमा र एक प्रतिशत रकम समाजिक उत्तरदायित्व तथा कर्मचारी राहत कोषमा जम्मा गर्ने व्यवस्था गरेका छन् । यसका लागि निर्देशिका स्वीकृत गरी लागू गरेका छौँ । 

राससको ६२ वर्षको इतिहासमा स्थानीय तथा अन्तर्राष्ट्रिय स्ट्रिन्जर समाचारदाता नियुक्ति गर्ने कुनै मापदण्ड थिएन । त्यसैले यो वर्षदेखि मापदण्ड निर्देशिका स्वीकृत गरी लागू गरेका छौँ । गुणस्तर सुधारका लागि सिनियर मेनेजमेन्ट टिम(एसएमटी), विभागीय प्रमुख, रिपोर्टिङ, सम्पादन र प्रशासन टिमसँग नियमित बैठक गरिरहेका छौँ । रासस कार्यरत सबै कर्मचारीलाई जिम्मेवार बनाउनको कार्यसम्पादन सम्झौता गरेका छौँ । राससको सेवालाई प्रभावकारी बनाउनका लागि एकीकृत सफ्टवेयर जडान गरी सञ्चालन गर्ने र पुराना समाचारलाई आर्काइभिङ गर्ने तयारीमा रहेका छौँ । 

राससले गरेका रचानात्मक कार्य

राससले विसं २०४१ जेठ ९ मा  राससको (लोगो) प्रतीक चिह्न बनाएको थियो । उक्त लोगो राससले अहिलेसम्म आफ्नो आधिकारिक चिह्नका रूपमा प्रयोग गर्दै आएको छ । विसं २०४४ मा रजत वर्षका अवसरमा राससको प्रतीक चिह्न अङ्कित चार रुपैयाँ मूल्य दरको हुलाक टिकट प्रकाशित गरेको थियो । विसं २०६२ मा स्वर्ण महोत्सवका सन्दर्भमा स्वर्णमहोत्सवको प्रतीक चिह्न अङ्कित १० रुपैयाँ दरको हुलाक टिकट मुद्रण गरिएको थियो । 

राष्ट्रिय समाचार समितिको स्वर्णमहोत्सवको उपलक्ष्यमा स्वर्ण महोत्सव स्मारक निर्माण गरी विसं २०६८ भदौ १ गते अनावरण गरिएको थियो । उक्त स्मारक २०७२ सालको भूकम्पले भत्काएपछि पुनः २०७९ सालमा मर्मत गरि पुनःस्थापना गरिएको छ । अनावरण गरिएको थियो । र अनावरण गरिएको हो । स्वर्ण महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकले कपर र निक्कलको मिश्रणबाट रासस स्वर्णमहोत्सव सिक्का अङ्कित ५० रुपैयाँ मूल्यका दुई हजार थान संस्मरणात्मक सिक्कासमेत निष्कासन गरेको थियो । 

राससले गणतन्त्र दिवस २०८० का सन्दर्भमा ‘हाम्रो संस्कृति, हाम्रो सम्पदा’ शीर्षक तस्बिर प्रदर्शनी गरेको थियो ।  यस्तै २०७९ सालमा ‘रासस हिजो र आज’ इतिहास र रासस शैली पुस्तक प्रकाशन गरेको थियो । यस अगाडि पनि एक दर्जनभन्दा बढी पुस्तक राससले प्रकाशन गरेको थियो । यस वर्ष वार्षिककोत्सवकै सन्दर्भमा ‘रासस अनुभव र अनुभूति’ पुस्तक प्रकाशन गरेका छौँ । उक्त पुस्तक केही समयपछि माननीय मन्त्री ज्यूबाट विमोचन हुने व्यहोरा अनुरोध छ । यस पुस्तकमा विसं २०१८ देखि २०८० साल माघ महिनासम्म नेतृत्व गर्नुभएका अध्यक्ष, महाप्रबन्धक र सेवानिवृत्त हुनुभएका सम्पादक, समाचारदाता, व्यवस्थापक र कर्मचारीहरुको अनुभव र अनुभूतिलाई समेट्ने प्रयास गरेका छौं । 

यो पुस्तकमा हामीसँग सम्पर्कमा भएका सबैलाई सकेजति समेट्ने प्रयास गरेका छाँै । सम्पर्कमा नभएका व्यक्तिहरुलाई पनि सम्पर्क सूत्र प्रयोग गरी प्राप्त भएका लेखलाई समावेश गरेका छौँ । लेखनमा असुविधा अनुभव गर्ने व्यक्तिलाई राससका समाचारदाता र सम्पादकमण्डल टिमका साथीहरुले भेट गरी अन्तर्वार्ता गरेर लेख तयार गर्नु भएको छ । हाम्रो अनुरोधलाई सहर्ष स्वीकार गरी लेख उपलब्ध गराउने सबै अग्रज महानुभावलाई हृदयदेखि आभार प्रकट गर्दछौँ । हामीले अथक प्रयास गर्दा पनि केही महानुभावहरुबाट लेख प्राप्त गर्न असमर्थ रह्यौँ । हामीसँग सम्पर्क नभएका र विदेशमा रहनुभएका व्यक्तिका लेख यो पुस्तकमा समेट्न सकेका छैनाँै । यो पुस्तक प्रारम्भ मात्रै हो । अहिले छुटेका राससका व्यवस्थापन नेतृत्व, कर्मचारी र पत्रकारहरुको लेख आगामी संस्करणमा समेटिनेछ । लेख उपलब्ध गराएर राससको ऐतिहासिक कालखण्डलाई उजागर गर्न सहयोग गर्ने सबै महानुभावहरुलाई हृदयदेखि नै धन्यवाद, आभार व्यक्त गर्दछु ।  

राससको भावी योजना

रासस व्यवस्थापनले भविष्यमा गर्नुपर्ने कामको योजना बनाउन थालेका छौँ । केही जनशक्ति व्यवस्थापन गर्नसके राससले सेवा विस्तारका लागि २४ घण्टै समाचार सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बजेट माग भएको जानकारी गराउँछु । त्यस्तै मातृभाषाका समाचार सेवालाई विस्तार र व्यवस्थित गर्ने योजना रहेको छ । 

राससको विभिन्न सहरमा रहेका जग्गा र भवनलाई व्यावसायिक प्रयोगमा ल्याउने र ग्राहकसेवा विस्तार गर्ने अभियानलाई तीव्रगतिमा अगाडि बढाउने र श्रव्यदृष्य सेवालाई व्यवसायीककरण गर्ने योजना बनाएको छ । राससमा खोज÷अनुसन्धान व्युरोलाई व्यवस्थित बनाउने योजना पनि रहेकोछ । 

यीबाहेक राससका पुराना कागजपत्र र ऐतिहासिक तस्बिर, समाचार र सामग्रीहरु राखेर कार्यालयको ग्राउण्ड फ्लोरमा मिनी सङ्ग्रहालय बनाउने, स्मार्ट कार्यालयको अवधारणाअनुसार पेपरलेस प्रविधिको प्रयोग गर्ने, समाचार र प्रशासनलाई आइटी फ्रेन्डली बनाउने योजना रहेको छ । अन्त्यमा फेरि पनि वार्षिकोत्सव समारोहमा आफ्नो अमूल्य समय उपलब्ध गराई हौसला प्रदान गर्नु हुने सबैलाई हार्दिक शुभकामना । 

(राससका महाप्रबन्धक सिद्धराज राईले वार्षिकोत्सव समारोहमा प्रस्तुत गर्नुभएको वार्षिक प्रगति विवरणको सम्पादित अंश)