काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यम सरकारको एकतर्फी प्रचारक भन्ने भाष्य गलत भएकाले सरकार र जनताको पुल बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले लामो समयसम्म सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमलाई सरकारको एकतर्फी प्रचारकको रुपमा बुझ्ने भाष्य स्थापित हुन पुगे पनि तर अब आफूहरुले यो भाष्य बदल्न चाहेको स्वष्ट गर्नुभयो । “अब सरकारी स्वामित्वका सञ्चारमाध्यमले सरकारका नीति, निर्णय र सन्देशहरु जनताको बीचमा लैजाने तथा जनताका आवाजलाई सरकारसम्म पु¥याउने पुलको भूमिका निर्वाह गर्नुपर्छ भन्ने सरकारको स्पष्ट मान्यता रहेको छ”, मन्त्री शर्माको सन्देशमा भनिएको छ, “संस्थामा उपलब्ध जनशक्ति र भौतिक सम्पत्तिको अधिकतम् सदुपयोग गरी थप स्रोत पहिल्याएर आम्दानी वृद्धि गरी आफूलाई आत्मनिर्भर बनाउन राससले ध्यान दिने विश्वास लिएको छु ।”

नेपालका सरकारका प्रवक्ता शर्माले सरकारी समाचार समितिका रुपमा सञ्चारमाध्यमका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सामग्री सङ्कलन र सम्प्रेषण गर्दै आएको राष्ट्रिय समाचार समिति समयानुकूल अझ विश्वसनीय, सशक्त र प्रभावकारी समाचार एजेन्सीको रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकतामा जोड दिँदै सूचना प्रविधिको विकास र आम पाठक र दर्शक–स्रोताको रुचिमा आएको परिवर्तनलाई सात्मसात गर्दै राससले भिडियो सेवा र भाषभाषीको समाचार सेवा पनि सुरु गरेकामा खुसी प्रकट गर्नुभयो ।

मन्त्री शर्माले राससले साथै विभिन्न सन्दर्भ विशेष र सङ्कटका बेलामा विशेष बुलेटिन सेवालगायत सिर्जनात्मक कार्य गर्दै चर्चा गर्दै सिर्जनामा आधारित बौद्धिक कर्मलाई अझै बढावा दिन आग्रह गर्र्नुभयो ।

राससलाई प्रभावकारी सञ्चारमाध्यमको रुपमा स्थापित गर्न सरकारका तर्फबाट हुनसक्ने आवश्यक सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै उहाँले सरकार आम सञ्चार क्षेत्रको पुनःसंरचनामा सहयोग पुग्ने गरी आवश्यक कानुन निर्माणको क्रममा जुटेको जानकारी दिनुभयो ।