पत्रकार सम्मेलनमा जानकारी दिंदै काङ्ग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्मा ।


काठमाडौँ — सत्ताधारी दल नेपाली काङग्रेसको महासमितिको बैठक भोलिदेखि सुरुहुँदैछ । महासमितिको बैठक ललितपुरको गोदावरीमा हुन लागेको हो ।

काङ्ग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आज आइतबार गोदावरी सनराइज सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको व्यवस्थापन तयारी पुरा भएको बताउनुभएको छ । ‘महासमितिको आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको छ’ नेता विश्वकर्माले भन्नुभयो ।


भोली फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पारेर काङ्ग्रेसको महासमिति बैठक सुरु हुँदैछ । भोली ७ गतेदेखि १० गते चार दिनसम्म गोदावरीमा सञ्चालन हुने महासमितिको बैठकले पार्टीको आगामी नीति निर्माण गर्ने प्रसार विभाग प्रमुख विश्वकर्माले पत्रकार सम्मेलनमा बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाले भोली सोमबार दिउँसो १ बजे बैठकस्थल गोदावरीमा महासमितिको बैठकको उद्घाटन गर्नुहुने बताइएको छ । नेता विश्वकर्माका अनुसार महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित पार्टीको नीति, साङ्गठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ ।

प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी गराए अनुसार ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल गरिनेछन् । तराई–मधेस, हिमाल–पहाडबाट र सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी छलफलका लागि समूह विभाजन गरिनेछ । चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल गरिने भएको छ ।

नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै काङ्ग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्ने नेता विश्वकर्माले पत्रकार सम्मेलनमा बताउनुभयो ।

भोलिदेखि हुने गोदावरीमा सुरुहुने महासमितिमा एक सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, एक हजार सात सय ८० महासमिति सदस्यहरूको सहभागिता रहने प्रसार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

उहाँका अनुसार नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमितिमा सहभागी गराइएको काङ्ग्रेसले तयारी गरेको छ । महासमितिको बैठकमा भाग लिन महासमितिका सदस्यलगायत प्रदेश र जिल्ला सभापतिलगायत भ्रातृ सङ्गठनका नेताहरु काठमाडौँ आउनेक्रम जारी छ । महासमितिको बैठकमा भागलिने सबैजना भोलि बिहानसम्म आइपुग्ने काङ्ग्रेसले जनाएको छ ।