काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले मध्य पहाडी राजमार्ग सङ्कल्पयात्रामार्फत उठाएको महत्त्वपूर्ण सुझाव कार्यान्वयनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभएको छ । आज आइतबार एमाले सांसद कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टीले मध्य पहाडी राजमार्ग सङ्कल्पयात्रामार्फत बुझाएका सुझाव कार्यान्वयनको अवस्था के भइरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभएको हो ।


‘झुलाघाट–चिवाभञ्ज्याङ मध्य पहाडी राजमार्ग म आफैले रेखाङ्कन गरेको हो । त्यसैले यसमा म पनि कहीँ न कहीँ जोडिएको छु’, प्रधानमन्त्रीले त्यस क्षेत्रको विकासमा निर्माणमा आफ्नो समेत चासो रहेको बताउनुभयो । उहाँले त्यस क्षेत्रमा १० वटा नयाँ शहरसहित दुई वटा शहर निर्माणको क्रम जारी गरेको भन्दै प्रतिवेदनमा उठाएका महत्त्वपूर्ण विषय कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल र निर्देशन दिइसकेको समेत जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्यसचिवसहित सचिवहरूसँग गहन छलफल भएको छ । समन्वयका लागि एमाले नेता विष्णु पौडेलसँग पनि अलग्गै छलफल भइरहेको छ । सरकार यो विषयमा गम्भीर छ । उल्लेख्य सुझाव आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिन्छ ।’