फाइल तस्वीरः समाजवादी मोर्चाका जिम्मेवारी शीर्ष नेताहरू।


काठमाडौँ — समाजवादी मोर्चाले जनपरिचालनसहित प्रभावकारी कार्यक्रम ल्याउने निर्णय गरेको छ । आज आइतबार समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा नगरमा बसेको मोर्चाको बैठकले आजदेखि सो मोर्चाको नेतृत्व समेत परिवर्तन गरेको । मोर्चाको नेतृत्व नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लप’ले गर्नुहुने भएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर भएका कारण आजको बैठकमा उपस्थित नहुनुभएको सचिवालय सदस्य एवम् माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी गराउनुभयो । नेता गुरुङले भन्नुभयो ‘उपेन्द्रजी जनकपुरमा भएकाले अनुपस्थित हुनुभयो । उहाँको सहमतिमै नेतृत्व परिवर्तन भएको हो ।’

आजको बैठकमा मोर्चा गठनभएदेखि अहिलेसम्मको गतिविधिबारे समीक्षा गरिएको बताइएको छ । उक्त बैठकबाट जनपरिचालनका कार्यक्रमलाई प्रभावकारी ढङ्गले परिचालन गर्नेसम्बन्धको जिम्मेवारी शीर्ष नेताहरूलाई दिइएको छ । मोर्चाको सचिवालय बैठक केही दिनमा बस्ने र जनपरिचालन सम्बन्धी कार्यक्रमको ठोस रुपरेखा तयार गरी सार्वजनिक गरिने बताइएको छ । मोर्चाको आगामी गन्तव्य र समाजवादी मोर्चामा अन्य राजनीतिक दलहरुलाई पनि सहभागी गराउने विषयमा समेत आगामी बस्ने बैठकमा छलफल हुने मोर्चाले जनाएको छ ।

गत असारमा चार दलीय समाजवादी मोर्चाको गठन भएको थियो । मोर्चा गठन भए पछि अहिलेसम्म खासै प्रभावकारी काम हुनसकेको छैन ।