राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताउनुभयो ।
“अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा प्रमुख रानाले भन्नुभयो, “धेरै कैफियत भेटिएपछि कृष्णसार सहकारी संस्थालाई कैफियत पुष्ट्याइँका लागि १५ दिनको मौका दिइएको छ, कैफियत नसच्चिए सहकारी ऐनबमोजिम कारबाही गरिने छ ।”
उहाँका अनुसार उक्त सहकारीलाई उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ८१ को उपदफा २ (ख) र (ग) को कैफियतमा रु तीन लाखसम्मको जरिवाना किन नगर्ने भन्ने कुराको पुष्ट्याइँसहित १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिइएको छ । सफाइ दिन नसके कारवाही गरिने छ । निरीक्षणका क्रममा देखिएका कैफियत सुधार गर्न २५ दिन समय दिइएको छ ।
अनुगमन टोली सदस्य जिल्ला सहकारी सङ्घका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले कृष्णसार सहकारी संस्थामा दुई वर्षदेखि चार खाता अपडेट नभएको, सहायक खाता नभएको, कर्जा फाइल व्यवस्थित नभएको, कर्मचारी नियुक्त नभएको, विनियम संशोधन नभएको, दैनिक भौचर नउठाएको, लेखा समितिको माइन्युट नभेटिएको, लेखा परीक्षकलाई नियुक्तिपत्र नदिएको, साधारणसभामा ५१ प्रतिशत उपस्थिति नपुगेको, सम्पत्ति शुद्धीकरण कार्यविधि नभएको, केवाइएम फाराम नभरेकोलगायतका कैफियत भेटिएको जानकारी दिनुभयो ।
सहकारी संस्थालाई विधिसम्मत चलाउन दुई वर्षदेखि सचेत गर्दै आएकाले अब पनि लापर्वाही भेटिए सहकारी ऐनबमोजिम कारबाही हुने उहाँको भनाइ छ । विधिसम्मत सञ्चालन नहुने केही संस्थाका कारण समग्र संस्थालाई आक्षेप लाग्ने भएकाले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब पनि नसच्चिने संस्थालाई कारबाहीका लागि कानुनी दायरामा ल्याइने उपाध्यायले बताउनुभयो ।
उपमहानगरपालिकाले गत वर्ष पनि सहकारी संस्थाको अनुगमन गरी कैफियत सच्याउन सचेत बनाएको थियो । यस वर्ष उपमहानगरपालिकाको सहकारी शाखाले अनुगमन गर्नुअघि वित्तीय सुशासन कायम गराउन सात दिने लेखा तालिम प्रदान गरी अनुगमन सुरु गरेको शाखा प्रमुख रानाले जानकारी दिनुभयो ।