काठमाडौँ — लुम्बिनी प्रादेशिक अस्पतालले बुधाबारदेखि एनजीओग्राम सेवा सुरु गरेको छ । उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन् । एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो ।

सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक यो सेवा सो अस्पतालमा सुरु भएको हो । यसअघि यो सेवा लिन त्यस भेगका जनता काठमाडौँ तथा भारत जानुपर्ने बाध्यता थियो । सेवा शुभारम्भ प्रादेशिक अस्पतालका डा अर्जुन बुढाथोकी र डा रोशन घिमिरेको नेतृत्वले गरेको हो ।

“अस्पतालले निकट भविष्यमै एनजीओप्लास्टी, पेसमेकर सेवा पनि सञ्चालनमा ल्याउन लागेको छ”, डा बुढाथोकीले भन्नुभयो । एनजीओप्लास्टी सेवा मुटुको धमनीमा जाली हाल्ने र पेसमेकर मुटुको चाललाई नियमित गर्न राखिने प्रविधि हो ।