काठमाडौँ — नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले छाउनीमा वरदान सैनिक विशेष दिवा विद्यालय निर्माण गरिएको छ । सैनिक श्रीमती सङ्घको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा निर्मित उक्त विद्यालयमा आगामी शैक्षिक सत्रबाट ३० जना बालबालिका भर्ना गरी पठनपाठन आरम्भ गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती सङ्घकी अध्यक्ष श्रीमती सुनिता शर्माले उद्घाटन गर्नुभएको उक्त विद्यालय करिब १५ महिनाअघि शिलान्यास गरिएको थियो । भवन समुद्घाटन समारोहमा प्रधानसेनापति शर्माले बहालवाला र अवकाशप्राप्त सैनिक व्यक्तिका विशेष क्षमता भएका सन्ततिको शिक्षा र जीवनोपयोगी क्षमता विकासमा विद्यालय महत्वपूर्ण सावित हुने बताउनुभयो ।

उहाँले विद्यालय सञ्चालनका लागि सहायता जुटाउन आयोजित वरदान सुरसन्ध्यामा सहयोग पु¥याउने कलाकारलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । सङ्घकी अध्यक्ष शर्माले विसं २०४० कात्तिक २२ गते स्थापित सैनिक श्रीमती सङ्घ सैनिक व्यक्तिका परिवारको कल्याण सँगसँगै विपद् प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा समेत क्रियाशील रहँदै आएको बताउनुभयो ।