काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रियसभाबाट प्रतिवेदनसहित प्राप्त ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा संशोधनकर्ता सदस्यसँग छलफल सुरु गरेको छ । उक्त विधेयकमा ३६ जना सदस्यले आफ्ना संशोधन दर्ता गराउनुभएकोमा आजदेखि छलफल सुरु भएको हो ।

बैठकमा सांसद्हरुले भएका विश्वविद्यालयलाई स्तरीय बनाउन लाग्नुपर्ने र थप विश्वविद्यालय आवश्यक छैनन् भन्दै नयाँ विश्वविद्यालयले उद्यमशील जनशक्ति उत्पादन गर्ने गरी काम गर्न जोड दिनुभयो । उहाँहरुले विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुन नहुने र दक्ष जनशक्ति उत्पादन र रोजगारीको वातावरण हुनुपर्ने बताउनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले मुलुकमा प्रगतिशील व्यावसायिक र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने गरी सरकारले सो विधेयक ल्याएको जानकारी दिनुभयो ।

आजको बैठकमा संशोधनकर्ता सांसद रघुजी पन्त, सूर्य ढकाल, मनिष झा, मैना कार्की, प्रेम सुवाललगायत सांसदले संशोधनको औचित्वबारे सैद्धान्तिक भनाइ प्रस्तुत गर्नुभएको थियो ।