काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।