फाइल तस्वीर
काठमाडौँ — गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा नरहेको खुलासा गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ गतेको सार्वजनिक बिदा कायम नरहेको बताएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० माघ २५ को बैठकको निर्णय अनुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९ चैत २) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ ।

सर्वोच्च अदालतले गएको पुस १३ गते जनयुद्ध दिवसको बिदा बदर गरिदिएको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने गठबन्धन सरकारको निर्णयलाई बदर गर्ने निर्णय गरेको थियो । सर्वोच्चको निर्णयपछि सरकारले जनयुद्ध दिवसको बिदा कायम नरहेको स्पष्ट पारेको हो।

यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।