फाइल तस्वीर
काठमाडौँ — नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा फागुन ७ देखि १० गतेसम्म हुने काङ्ग्रेस महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा हँुदैछ । पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी काङ्ग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुनेगरी दुई हजार तीनभन्दा बढी महासमिति सदस्यले भाग लिनेछन् ।