काठमाडौँ — नेपाली काङ्ग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद् गगनकुमार थापाले सरकारी जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्ने बताउनुभएको छ । आज बुधबार सङ्घीय संसद् नयाँबानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले यस्ता प्रकरणमा संलग्न व्यक्ति जतिसुकै शक्तिशाली भएपनि कानुनी दायरामा आउनुपर्ने बताउनुभएको हो ।

बाँसबारी जग्गा प्रकरणलाई लक्षित गर्दै सांसद थापाले भन्नुभयो,‘राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति गलत गर्नेले दण्डित हुनुपर्छ । हातमा तागत होस् या कलम होस् उसलाई दण्डित गरिनुपर्छ । सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ । जग्गा हडप्ने होस् या मिच्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन ।’

सहकारी ठगीको धन्दाको मतियारलाई पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने बताउँदै सांसद थापाले ‘आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? कानुनले कारबाही गर्नु पदैन ?’ भन्दै प्रश्न गर्नुभयो ।

आजको दिनमा सुशासनको मन्त्र भनेको कानुन र विधिको शासन हुनुपर्ने महामन्त्री थापाले बताउनुभयो । ‘चाहे जग्गा मिच्ने होस्, चाहे नागरिकताको कीर्ते गर्ने होस् । चाहे सहकारीमा ठग्ने होस् । यताको होस् । उताको होस् । जुनसुकै दलको होस् । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । थापाले कुनै कानुन मिचेमा आमनागरिकले जसरी दण्ड पाउँछन्, त्यसैगरी शक्तिशालीलाई पनि छाड्न नहुने बताउनुभयो ।