काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बताइएको छ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उहाँका स्वकीय सचिव गणेश योङहाले जानकारी दिनुभयो । “उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ”, योङहाले भन्नुभयो, “सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।”

अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा प्रसन्ना कार्र्कीलगायतका चिकित्सकको समूहले उहाँको उपचार गरिरहनुभएको छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो । यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उहाँलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।