फाइल तस्वीरः नेपाली काङ्ग्रेस महामन्त्री गगन थापा ।


काठमाडौँ — नेपाली काङ्ग्रेसले सञ्चालन गरेको ‘समुदायमा काङ्ग्रेस अभियान’ अन्तर्गत ‘मेची महाकाली संवाद यात्रा’ तत्कालका लागि स्थगित भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गए राति निधन भएकाले उक्त यात्रा स्थगित भएको हो ।

महामन्त्री गगनकुमार थापाले सञ्चालन गर्नुभएको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित गर्दै महामन्त्री थापाले नेता बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थियो । महामन्त्री थापाको संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम थियो ।

काङ्ग्रेसले सञ्चालन गरेको ‘समुदायमा काङ्ग्रेस अभियान’ अन्तर्गत नै आफ्नो मेची महाकाली संवाद यात्रा सञ्चालन गर्नुभएका महामन्त्री थापाले यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या र असल अभ्यासका बारेमा छलफल गर्दै आउनुभएको थियो । जनतासँग अन्तरक्रिया गर्दै उनीहरुको धारणा बुझ्दै हिड्नुभएका काङ्ग्रेस महामन्त्री थापाले स्थगित भएको कार्यक्रम पछि समय मिलाएर निरन्तरता दिई समापन गर्ने बताउनुभएको छ ।