फाइल तस्वीर
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सङ्घीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गर्नुभएको आरोप लगाएको छ । आज सोमबारदेखि सुरु भएको राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले सांसद् देवेन्द्र दाहालले राष्ट्रपति पौडेलमाथि यस्तो आरोप लगाउनुभएको हो ।

सङ्घीय संसद सचिवालयमा मङ्सिर २५ गतेदेखि महासचिव पद रिक्त रहँदै आए छ । सङ्घीय संसद सचिवालयका तात्कालीन महासचिव भरतराज पौडेलले मङ्सिर २५ गते पदबाट राजीनामा दिनुभएपछि उक्त पद रिक्त रहँदै आएको छ ।

सङ्घीय संसदका सचिवालयको रिक्त महासचिव पदमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसद सचिवालयकै सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । दुई महिना वितिसक्दा पनि राष्ट्रपतिले महासचिव नियुक्त नगर्नु भएको विरोधमा एमालेले आज राष्ट्रियसभाको पहिलो दिनको बैठकमै कुरा उठाएको छ । सांसद दाहालले बैठकमा बोल्दै राष्ट्रपतिको यो कदम प्रति आपत्ति जनाउनुभएको थियो ।

सांसद दाहालले बैठकमा बोल्दै भन्नुभयो —‘यो अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौं ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपतिज्यू तपाईंको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईको चलखेल किन ?’

अविलम्ब महासचिव नियुक्त गर्न राष्ट्रपति पौडेललाई आग्रह गर्दै सांसद दाहालले भन्नुभयो — ‘हामीलाई कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व दिइयोस् । मलाई विश्वास छ, आगामी बैठकहरुमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन ।’

संसद् सचिवालय यतिबेला कार्यवाहक महासचिवलले सञ्चालन गरेको अवस्था छ । कार्यवाहक महासचिवको रुपमा संसद सचिवालयका सचिव पद्मप्रसाद पाण्डेलाई जिम्मेवारी दिइको छ ।