फाइल तस्वीर


काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यक र स्थानीय तहमा गरी कुल २५ सिट रिक्त भएको स्थानमा पदपूर्ति निर्वाचनको तयारी गरेकोले मतदाता नामावलीमा नाम दर्ता गर्न अनुरोध गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा ‘वि।सं। २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त भएको जानकारी प्राप्त भए बमोजिम उक्त पदहरूमा कानून बमोजिम उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको छ’ भनि उल्लेख गरिएको छ ।

आयोगमा आगामी बैशाखमा रिक्त २५ पदमा उपनिर्वाचन गर्न सरकारलाई सुझाएको छ । हिजोमात्रै सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच उपनिर्वाचन गर्ने बारेमा सिंहदरबारमा छलफल भएको थियो ।

यसैबीच उपनिर्वाचन गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभएको छ । प्रवक्ता पौडेलकाअनुसार सोही प्रयोजनका लागि आयोगले योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले जारी विज्ञप्तिमार्फत् ‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ’, शर्माको विज्ञप्तिमा भनिएको छ, ‘आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ। साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ। मतदाता दर्ता सम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ।

तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ’ — भनि जानकारी गराएको छ ।

२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन भएको थियो भने २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । विभिन्न कारणले निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो ।

Capture

Capture1