फाइल तस्वीर
काठमाडौँ — नेपाल समाजवादी पार्टीले रिक्त केन्द्रीय समितिमा पदपूर्ति गर्ने भएको छ । आज आइतबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा सहअध्यक्ष गङ्गा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्दै पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको हो ।

सहअध्यक्ष श्रेष्ठ नेतृत्वको कार्यदलमा उपाध्यक्ष हिसिला यमी, प्रवक्ता दुर्गा सोव, महासचिव रमेश यादव र ईश्वर रिजाल सदस्य रहनुभएको छ । कार्यदललाई रिक्त २१ जना केन्द्रीय सदस्यको अद्यावधि गर्ने, जनवर्गीय सङ्गठनभित्र सक्रिय र निष्क्रिय सदस्यहरूको छानविन गर्न कार्यादेश दिएको छ । बैठकले केन्द्रीय समितिले अनुमोदन गरेका विधान संशोधित मस्यौदा पारित गरेको छ ।

पार्टी महासचिव रमेश यादवका अनुसार महाधिवेशन गर्ने समय एक वर्ष पर सार्ने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गरेको छ । जनता समाजवादी पार्टीबाट गत वर्ष असारमा विभाजन भई डा. बाबुराम भट्टराईको नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन भएको थियो । उक्त पार्टीले आगामी फागुनको पहिलो हप्तामा अधिवेशन गर्ने विधानमा समेत उल्लेख गरेको थियो । तर विधानअनुसार निर्धारित समयमा अधिवेशन गर्न नसक्ने भएपछि केन्द्रीय समितिले विधान संशोधन गरेको थियो । नेसपा र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने विषयमा नेसपाभित्र विवाद उत्पन्न भएको थियो । माओवादी केन्द्रसँग एकता गर्न आगामी जेठसम्म महाधिवेशन स्थगित गर्ने बैठकले निर्णय गरेको थियो ।