उपप्रधानमन्त्री पूर्वबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।
काठमाडौँ — सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्वबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज उपनिर्वाचनको सम्बन्धमा छलफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था भए अनुरुप उहाँहरुबीच छलफल भएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनप्रतिनिधिहरुको रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कासँग सिंहदरबार पुगेर छलफल गर्नुभएको हो । भेटका अवसरमा रक्षा मन्त्रीसँग प्रमुख निर्वाचन आयुक्तले हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा कुरा गर्नुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आयोगले रिक्त स्थानहरुमा आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सकिने भन्दै सरकारलाई यस अघि नै सुझाएको थियो । विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एक÷एक पद रिक्त छन् ।

इलाम निर्वाचन क्षेत्र–२ बाट निर्वाचित नेकपा (एमाले)का सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेश १ बाट निर्वाचित नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि ती स्थानमा उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ ।

यसैगरी जिल्ला समन्वय समिति दुई प्रमुखमा, एक नगर उपप्रमुखमा, गाउँपालिका अध्यक्षमा एक, गाउँपालिका उपाध्यक्षमा दुई र विभिन्न पालिकाका १७ वडा अध्यक्ष २५ रिक्त पद छन् । ती पदमा उपनिर्वाचनका लागि आयोगले उपप्रधानमन्त्री खड्कासँग आवश्यक छलफल गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।