फाइल तस्वीर


काठमाडौँ — नेपाल पर्यटन बोर्डमा रिक्त तीन सदस्यका लागि १९ जनाको निवेदन परेको छ । भोलि माघ २२ गतेदेखि रिक्त हुने तीन पद बोर्ड सदस्य का लागि १९ जना व्यवसायीहरूको आवेदन परेको हो ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पाको पदावधि भोलि माघ २२ गतेबाट सकिंदै छ । भोलिबाट रिक्तहुने तीन पदका लागि पर्यटन व्यवसायीहरूबीच तीव्र प्रतिस्पर्धा रहेको छ ।

तीन वर्षे कार्यकालका लागि पर्यटन बोर्डमा जान पर्यटन व्यवसायीहरु प्रधानमन्त्रीदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राजनीतिक शक्ति केन्द्र, पार्टी र तिनका नेताहरूसमक्ष सिफारिस बोकेर हिंडेका छन् । बोर्डको सदस्य नियुक्तिमा हुन सक्ने चलखेललाई दृष्टिगत गर्दै सरकारले मन्त्रिपरिषद्बाट यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव गोविन्द कार्कीको संयोजकत्वमा निजी क्षेत्रका दुई जना प्रतिनिधिसहित तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।

उक्त समितिले आवेदन दिएका व्यवसायीहरूबाट सम्भावित पाँच जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउनेछ । सोही मध्येबाट मन्त्रिपरिषद्ले तीन जनालाई बोर्ड सञ्चालक समिति सदस्यको रूपमा नियुक्त गर्नेछ ।

नेपाल पर्यटन बोर्ड नेपालको पहिलो पब्लिक–प्राइभेट सेक्टर पार्टनरशीप (पीपीपी) मोडको नमुना संस्था हो । उक्त बोर्डमा जान सत्ता साझेदार दलहरुसँग निकट व्यक्तिहरुले पहल गरिरहेका छन् ।

यसैगरी टानका पूर्वअध्यक्ष नवराज दाहाल र निवर्तमान अध्यक्ष खुम सुवेदीले समेत बोर्ड सदस्यका लागि तीव्र आकाङ्क्षा देखाएका छन् । सुवेदी नेकपा एमालेको कोटाबाट नियुक्ति लिन लागि परेका छन् ।

पर्यटन बोर्डको सञ्चालक समितिमा सरकारी निकायबाट पाँच र निजी क्षेत्रबाट पाँच जना रहने व्यवस्था छ । आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर डा.धनञ्जय रेग्मी बाहिरिएसँगै हाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा छ । बोर्डको सीईओ पदका लागि पनि झण्डै आधा दर्जन व्यवसायीहरूले आकाङ्क्षा देखाएका छन् ।