फाइल तस्वीर

काठमाडौँ — नेपाली काङ्ग्रेसले आगामी महासमितिको बैठकलाई लक्षित गर्दै विभिन्न उपसमितिका संयोजकहरू चयन गरेको छ । आगामी फागुन ७ गतेदेखि सुरु हुने महासमितिको बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले उपसमितिको संयोजक चयन गर्नुभएको हो ।

काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शमशेर राणा र यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा चयन भएका छन् ।

यसैगरी स्वयंसेवक परिचालन उपसमितिमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई जिम्मेवारी तोकिएको छ ।

महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउनु हुने विश्वास सभापतिले व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ ।

Press Reales, Mahasamiti