फाइल तस्वीर
काठमाडौँ —नेपाल समाजवादी पार्टी (नेसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । संशोधित विधान मस्यौदा अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

विधानमा सङ्घीय परिषद्को व्यवस्था राख्ने कि नराख्ने भन्ने विषयलाई टुङ्ग्याउन कार्यकारिणी बैठक बोलाइएको उक्त पार्टीका प्रवक्ता दुर्गा सोवले जानकारी दिइन् ।

प्रवक्ता दुर्गाले भन्नुभयो — ‘यही फागुनभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख थियो । तर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने भएपछि एक वर्ष थप गर्ने निर्णय गरेका छौँ । साथै सङ्घीय परिषद् बैठक राख्ने वा नराख्नेबारे निर्णय लिनुपर्ने भएकाले कार्यकारिणी बैठक बोलाइको हो ।’

शनिवार बसेको केन्द्रीय समितिले आगामी फागुनभित्र महाधिवेशन गर्न सम्भव नभएपछि महाधिवेशनको मिति एक वर्ष थप गर्ने निर्णय गरेको थियो । रिक्त रहेको २१ जना सदस्यका अद्यावधिक गरी निर्वाचन आयोगलाई लिखित जानकारी गराउने निर्णय समेत गरेको थियो ।

नेकपा माओवादी केन्द्रसँग एकता र महाधिवेशनको तयारी सँगसँगै लैजाने निर्णय भएको बताइएको छ । एकता महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा बाबुराम पक्ष र महिन्द्रराय पक्षबीच विवाद रहँदै आएको थियो । हिजो शनिबार बसेको बैठकले पार्टी एकतालाई प्राथमिकता दिने निर्णय गरेपछि अध्यक्षद्वय भट्टराई र महिन्द्र रायबीचको विवाद समाधान भएको थियो ।